जनता अभियान सोमबार, बैशाख २५, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फिल्म देखाउन प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती दिएका छन् ।
सोमवार पार्टी कार्यलयमा युवा संघको कार्यक्रममा अध्यक्ष ओलीले भने – ‘उहाँलाई कार्यकर्ताले दुबोका माला लगाइदिए । त्यसपछि भन्नु भयो, यो त ट्रेलर मात्रै हो । फिल्म आउँदैछ । सिंगै फिल्म आउँदैछ भन्नु भयो । तपाईंको सिनेमा हलमा फिल्म कहिलेदेखि लाग्छ प्रचण्डजी ? अन्त त धुमधाम भइसक्यो । सधैं ट्रेलरमात्र किन सिनेमा चलाउनुस् । किन हल रित्तै ? किन ताला लाग्या छ ? सञ्चार माध्यममा फिल्म आइराख्या छ, तपाईं किन चुप ? देखाउनुस त फिल्म ।’
अध्यक्ष ओलीले प्रचण्ड दुनियाँ लट्पटाउन सिपालु रहेको आरोप समेत लगाए । उनले भने – ‘केही मान्छेहरुलाई बदनाम गर्ने उहाँहरुको चेष्टा छ । उहाँहरु अगाडि देखि लागिरहनु भएको छ । प्रधानमन्त्री भ्रष्टाहरुलाई जोगाउने र प्रतिपक्षीलाई अनावश्यक रुपमा पोल्न लगाउने र मुद्दामा फसाउने प्रयासमा हुनुहुन्छ । प्रचण्डलाई जनताले चिनेकै छैन जस्तो गरेर, सेतो वस्त्र लगाएको, दुधले नुहाएको पवित्र अवतारका साथ मिडियामा प्रस्तुत हुन खोज्नुभो । म कसैको दवाव मान्दिनँ भन्नु भयो । के मैले उहाँलाई दवाव दिएको थिएँ ? मैले दवाव दिएको जस्तो पार्न खोज्नुभयो । उहाँ दुनियाँ लट्पटाउन सिपालु हुनुहुन्छ ।’