जनता अभियान शनिबार, जेठ ०६, २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकका बारेमा छलफल गर्नुभएको छ। सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकका बारेमा अर्थमन्त्रीले छलफल गर्नुभएको हो। छलफलका क्रममा उठेको जिज्ञासाको जवाफ दिँदै उहाँले व्यक्ति वा पार्टीभन्दा माथि उठेर काम गर्ने बताउनुभएको छ। ‘‘सिस्टमबाट आएका कुरा ठीक छन् कि छैनन यी सबै कुरा दिनरात हेरिरहेको छु। यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन। यहाँ देश र जनताको कुरा छ। म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु’’, मन्त्री महतले भन्नुभयो।
छलफलमा अर्थमन्त्री डा. महतलाई सांसदले वर्तमान अर्थतन्त्रकाबारेमा विभिन्न जिज्ञासा राख्नुभएको थियो।सांसदको जवाफ दिँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन। तर हामी नेपालमै अवसर सिर्जना गर्दै लैजाने हो। यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन। युवाको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं।’’
अर्थमन्त्री महतले ज्ञान र अनुभवलाई उपयोग गर्ने तर धेरै हल्ला नगर्ने बताउनुभएको छ। सबै समस्या एकसाथ सफाचट नहुनेसमेत उहाँले प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘‘ज्ञान र अनुभवलाई म उपयोग गर्छु। म ठूलो स्वरमा कुरा गर्दिन। सुधारको आवश्यकता छ, यसलाई इमान्दारिका साथ काम गर्छु। तर दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिन। अवश्य पनि नीति कार्यक्रममा क्रमशः सुधार गरिनेछन्। धेरैजसो यसपाली गरिनेछ, कतिपय कुरा क्रमशः गरिँदै लगिने छ।’’