राजविराजमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

जनता अभियान शनिबार, जेठ ०६, २०८०

 

सप्तरीको राजविराजस्थित गजेन्द्र चोकमा शनिबार साँझ भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचार काण्डमा संलग्नलाई कारबाहीको माग गर्दै राजविराज जेसीजले प्रदर्शन गरेको हो।

शरणार्थी प्रकरणलगायत विभिन्न भ्रष्टाचार काण्डमा संलग्न कुनै पनि दोषीलाई उन्मुक्ति दिन नहुने उनीहरूले माग राखे। प्रदर्शनमा स्थानीय नागरिकहरू स्व:स्फूर्त रुपमा उत्रिएका छन्।

राजविराज जेसीजका युवाहरू जम्मा भएर भ्रष्टाचारविरोधी नारासहित मन्तव्य राखेका छन्। पार्टी, संस्थाभन्दा ठूलो राष्ट्र हुने तथा भ्रष्ट र नालायकहरूविरुद्ध एकजुट हुनुपर्ने भन्दै उनीहरूले प्रदर्शन गरेको बताए।

प्रदर्शनमा सहभागीहरूले कुनै पनि दबाबमा भ्रष्टाचारका दोषीलाई उन्मुक्ति दिन नहुने माग गरेका छन्। प्रदर्शनकारीहरूले भ्रष्टाचार विरोधी नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरे।

राजविराज जेसीजका अध्यक्ष उज्जवल कावराको अध्यक्षतामा भएको कार्यक्रममा राजविराज जेसीजका पूर्वअध्यक्षहरू मनोहर पोखरेल, सन्तोष सिन्हालगायतको सहभागिता रहेको थियो।

यहाँ कमेन्ट गर्नुहोस्