बिनोद मेहता मंगलबार, कार्तिक ०२, २०७८
देवानगन्ज । सुनसरीको देवानगन्ज गाउँपालिका–६ का शिवशंकर मेहता ‘देवानगन्ज पब्लिक स्पिकर–२’ का विजेता बनेका छन् । सोमबार भएका फाइनलमा विजेता बन्दै शिवशंकरले २१ हजार रुपैयाँ नगद हात पारेका हुन् ।
नासा ईन्भेष्टमेन्ट प्रालिले गत आइतबारबाट देवानगन्जमा ‘देवानगन्ज पब्लिक स्पिकर–२’ सुरु गरेको थियो । फेमिलियर इभेन्ट म्यानेजमेन्ट देवानगन्जको व्यवस्थापनमा भएको उक्त प्रतियोगितामा शिवशंकर उत्कृष्ट ठहरिए । यस्तै, वडा नम्बर ३ को सामुदायिक भवनमा भएको फाइनलमा देवानगन्ज–५ का पप्पुकुमार राय उपविजेता बने भने वडा नं २ कल्पनाकुमारी मेहता दोस्रो उपविजेता बनिन् ।
सहभागीहरुलाई ५ चरणका प्रतियोगिता गरी पहिलो हुनेलाई रु २१ हजार, दोस्रो हुनेलाई रु ११ हजार र तेस्रो हुनेलाई रु पाँच हजारको पुरस्कारसहित ट्रफ्री प्रमाणपत्र प्रदान गरिएको नासा ईन्भेष्टमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत अरविन्द मेहताले जानकारी दिए ।
उनीहरू तीनै जनालाइ देवानगन्ज(२ काङ्ग्रेस वडा सभापति अशोक मेहता, भोजपुर रामप्रसादराइ गाउँपालिका अधिकृत बाबुनन्दन मेहता र नासाका अध्यक्ष अरविन्द मेहताले पुरस्कार वितरण गरेका थिए ।
उनका अनुसार देवानगन्ज गाउँपालिकाभरिमा लुकेर रहेको प्रतिभाहरुलाई यस प्रतियोगिताको माध्यमबाट बाहिर ल्याउने, गाउँघरमा रहेको प्रतिभाशाली व्यक्तिहरूलाई अवसर प्रदान गरिएको हो ।
प्रतियोगितामा ६० जनाले भाग लिएकोमध्ये प्रतिस्पर्धामा आएका ३६ जनासहित सबैजनालाई अगामी दिनमा थप मिहिनेतका साथ प्रस्तुत हुन उनले आग्रह गरे ।
कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी ,वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका प्रा. डा. रामशरण मेहता, सुनसरी बहुमुखी क्याम्पस इनरुवाका पुर्व क्याम्पस प्रमुख प्रकाश नेपाली ,पुर्वाञ्चल ईन्जिनियरिङ क्याम्पस धरानका पुर्व क्याम्पस प्रमुख उद्वव श्रेष्ठ , महेन्द्र बहुमुखी धरानका सहायक क्याम्पस प्रमुख शकुल श्रेष्ठ, नेपाल पूँजीबजार लगानीकर्ता संघ सुनसरी संयोजक एकराज खनाल, देवानगंज गा .पा. का उपाध्यक्ष पुनिता देवि यादव , भोजपुर रामप्रसादराइ गाउँपालिका अधिकृत बाबुनन्दन मेहता , पत्रकार बिरेन्द्र मेहता, रेडियो नागरिक बिराटनगरका प्रमुख अरबिन्द मेहता, जिल्ला अस्पताल सुनसरीका लेखापाल रन्जाय मेहता,समाजसेवी यूवा राजिव मेहता लगायतको उपस्थिति रहेको थियो ।