विराटनगरबाट २२ किलाे गाँजा बरामद, तस्करलाई लखेट्दा प्रहरी घाइते

जनता अभियान आइतबार, जेठ ०७, २०८०

 विराटनगरबाट प्रहरीले २२ किलो गाँजा बरामद गरेको छ । शनिबार राति २२ किलो गाँजा बरामद गरेको हो । गाँजा तस्करलाई लखेट्ने क्रममा  एक जना प्रहरी घाइते भएका छन् ।

विराटनगर महानगरपालिका–१८ मुसहरी टोली हुँदै भारततर्फ लगिँदै गरेको लागूऔषध गाँजा नियन्त्रणमा लिन खटिएका प्रहरी सहायक हवल्दार ३१ वर्षीय राजा साह घाइते भएका हुन् ।

प्रहरीलाई देख्नासाथ गाँजा फ्यालेर तस्करीमा संलग्न फरार बनेका थिए । गाँजा फ्यालेर भागेका व्यक्तिलाई नियन्त्रणमा लिनका लागि लखेट्ने क्रममा लडेर साह घाइते भएका हुन् ।

खुट्टामा चोट लागेका उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल भर्ना गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

नेपाल–भारत सीमानाका हुँदै भारततर्फ लैजाँदै गरिएको अन्दाजी २२ किलोग्राम गाँजा राति ११ः१५ बजेतिर बरामद गरिएको हो । बोरामा प्याक गरी टाउकोमा बोकेर २ जना व्यक्तिले भारत कटाउने तयारी गर्दैगर्दा विराटनगर–१८ मुसहरी टोलबाट गाँजा बरामद गरिएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्