जनता अभियान बुधबार, जेठ १७, २०८०

गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जमा कार्यरत् वरिष्ठ निरीक्षक शशीभुषणकुमार यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले यादवविरूद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियार प्रवक्ता भोला दाहालका अनुसार यादवसँग चार करोड ४७ लाख ३४ हजार २१२ रुपैयाँ बिगो माग गरी भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
यादव २०४६ साल जेठ ८ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका थिए। उनको २०७९ असार मसान्तसम्मको अवधिको आम्दानीको स्रोतमाथि अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा यादवले जम्मा दुई करोड ७७ लाख २२ हजार ५० रुपैयाँ वैधानिक रुपमा आर्जन गरेको पाइएको छ। यादवले सो अवधिमा सात करोड २४ लाख ५६ हजार २६३ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ।
आम्दानी र खर्चको विवरण घटाउँदा देखिने रकमलाई बिगोस्वरुप दाबी गरिएको प्रवक्ता दाहालले बताए। यादवबाट उक्त रकम असुल उपर गर्न तथा भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार जेल सजायसमेत माग गरिएको छ।
यस्तै, मुद्दामा उनकी श्रीमती रिता रानी, छोराद्वय विकास र अविनाशलाई समेत प्रतिवादी बनाइएको छ। पदमा रहँदा यादवले कमाएको सम्पत्ति श्रीमती र छोराका नाममा राखेको पाइएकाले जफत प्रयोजनका लागि मुद्दा दायर गरिएको दाहालले बताए।