एमालेलगायतका दलले गरे संसद अवरूद्ध

जनता अभियान आइतबार, जेठ २१, २०८०

नागरिकता विधेयक प्रमाणीकरणप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ।

आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै नेकपा एमाले, रास्वपा, राप्रपा लगायतका प्रतिपक्षी दलहरूका सांसदहरू नागरिकता विधेयक प्रमाणीकरणप्रति असन्तुष्टि जनाउँदै उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो।

उनीहरूले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक कदम चालको भन्दै यसलाई निष्कृय पारेर संसदनबाट प्रक्रियागत ढंगले अघि बढाउन माग गर्दै नाराबाजी गरेका थिए।

बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले नागरिकता विधेयकलाई निष्कृय गरेर नयाँ संशोधन प्रस्ताव ल्याउनुपर्ने र त्यसलाई छिटो अघि बढाएर अप्ठ्यारोमा परेकालाई नागरिकता दिनुपर्ने बताए।

उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा बंगलादेशको फूलबारी बन्दरगाह प्राप्त गर्न कालापानी दिन तयार रहेको आशयको अभिव्यक्तिले नेपालीको शिर निहुराउने काम भएको समेत बताए।

नागरिकताको विषय र भारत भ्रमणका विषयमा प्रधानमन्त्रीले संसदमा आएर माफी नमागेसम्म संसद चल्न नसक्ने उनले बताए।

त्यस्तै, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता सम्बन्धी विधेयकलाई अघि बढाउने विधि जनताको समस्या समाधान भन्दा पनि अन्य कुनै स्वार्थका कारण आएको अरोप लगाए।

उनले गैरसंवैधानिक कदमको भारी रास्वपाले बोल्न नसक्ने भन्दै यसको विरुद्धमा सदन र सडक संघर्ष गर्ने बताए।

त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा नभएको र हुन पनि नसक्ने भए पनि अहिले राष्ट्रपतीय संस्था दलको निर्देशनमा चलेको बताए।

उनले नागरिकता विधेयकलाई छिट्टै प्रक्रियामा ल्याई अघि बढाउनुपर्ने धारणा राखे। रेशम चौधरीको आममाफीमा पनि राष्ट्रपति दलको निर्देशनमा चलेको उनले बताए।

प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएपछि सभापति देवराज घिमिरेले कार्यसूचीमा संसदलाई अघि बढाउन पटक-पटक आग्रह गरेका थिए।

तर प्रतिपक्षी दलले आफ्नो अडान कायम राखेपछि सभामुख घिमिरेले संसद बैठक स्थगित गरे।

यहाँ कमेन्ट गर्नुहोस्