बासी भात दिएको निहुँमा धनुषामा सौतेनी आमाको हत्या

जनता अभियान मंगलबार, आषाढ २६, २०८०

सौतेनी आमाको हत्या गरेको आरोपमा धनुषामा छोरा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला वेतिया नरकटियागंज थाना केयुनिया घर भएका १९ वर्षीय प्रेमकुमार भगत रहेका छन्।

उनी धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ स्थित भाडामा बस्दै आएका थिए।

प्रहरीका अनुसार उनले बासी खाना दिएको विषयलाई लिएर आफ्नै सौतेनी आमाको हत्या गरेको खुलेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए।

शनिबार मध्यान्ह साढे ३ बजे मीरादेवी भगतको शरीरमा आगो लागेको अवस्थामा शव फेला परेको थियो।

खड्काका अनुसार अनुसन्धानको क्रममा प्रेमलाई नियन्त्रणमा लिइएको थियो।

अनुसन्धान गर्दै जाँदा उनले सौतेनी छोराले हत्या गरेको खुलेको हो।

घटनाको दिन बिहान करिब ८ बजे प्रेम काम गर्नको लागि बाहिर गएका थिए।

प्रहरीका अनुसार त्यसदिन घरमा कोही थिएनन्। प्रेम मध्यान्ह १२ बजेतिर कामबाट कोठामा फर्केका थिए।

आमासँग खाना माग्दा बासी भात दिएकी थिइन्। त्यसपछि दुबैबीच वादविवाद भएको थियो।

बयानका क्रममा प्रेमले सौतेनी आमाले आफूलाई बुवाको नाम जोडेर अपशब्द गालीगलौज गरेको उल्लेख गरेका छन्।

विवाद बढ्दै जाँदा सौतेनी आमाले प्रेमलाई चिर्पट प्रहार गर्न खोजेकी थिइन्। प्रेमले त्यही चिर्पट खोसेर आमालाई टाउकोमा प्रहार गरेका थिए।

चिर्पट प्रहारले आमाको घटनास्थलमै मृत्यु भएको प्रेमले बयान दिएका छन्।

मृत्युपछि प्रेमले कपडा, जुटको बोराहरू आमाको शरीरमा राखेर आगो लगाएका थिए।

प्रेमविरूद्ध कर्तव्य ज्यानमुद्दामा अनुसन्धान भइरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्