जनता अभियान सोमबार, साउन ०८, २०८०

भोजपुरी सिनेमाका सुपरस्टार मानिने खेसारीलाल यादवविरुद्ध छपरा अदालतले पक्राउ पुर्जी जारी गरेको छ । चार वर्ष पुरानो मुद्दामा बिहारस्थित छपरा सिभिल कोर्ट तथा अपराध न्यायालयले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
१८ लाख रुपैयाँको चेक बाउन्स गरेको मुद्दामा छपरा कोर्टका न्यायिक अधिकारी प्रियाङ्शु शर्माले यस्तो आदेश दिएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् ।
सन् २०१९ मा शत्रुघनकुमार उर्फ खेसारीलालले आफ्नी पत्नी चन्दादेवीको नाममा जग्गा किनेका थिए । रसुलपुर थाना क्षेत्रको असहनी गाउँका मृत्युन्जयनाथ पाण्डेको जमिन खेसारीलालले चन्दाको नामबाट किनेका थिए ।
२२ लाख सात हजार रुपैयाँमा जग्गा किनबेचको शर्त मिलेपछि ४ जुन २०१९ मा जग्गा पञ्चीकरण कार्यालयमा दर्ता पनि भएको थियो ।
त्यसबेला खेसारीलालले दिएको १८ लाख रूपैयाँको चेक बाउन्स भएपछि उनीविरुद्ध मुद्दा परेको थियो । चेक बाउन्स गराएर मृत्युन्जयनाथ पाण्डेले रसुलपुर थानामा १६ अगस्त २०१९ मा उजुरी दर्ता गराएका थिए ।
अदालतले २२ जनवरी २०२१ मा खेसारीलालविरुद्ध नोटिस पनि जारी गरेको थियो । अदालतले पटक-पटक तोकेको मितिमा खेसरीलाल वा उनका वकिल उपस्थित नभएपछि २०२१ को डिसेम्बरमा गैर जमानती वारेन्ट जारी गरेको थियो ।
त्यसपछि भने खेसारीलालले कोर्टमा उपस्थित भएर २१ जनवरी २०२२ मा अन्तरिम जमानत लिएका थिए ।
तर, फेरि पछिल्ला तारिखमा उपस्थित नभएका खेसरीलालविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो । रसुलपुर थानाको धानाडीह ग्राम निवासी अभिनेता तथा गायक खेसारीलाल अब जेल जानसक्ने खतरामा रहेको भारतीय मिडिया आजतकले लेखेको छ ।