जनता अभियान बिहिबार, साउन १८, २०८०

विराटनगर महानगरपालिका–५ का रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । साउन ५ गते चौधरीको सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न तीन मध्ये २ जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो । एक जना अझै फरार छन् ।
लुटपाटको प्रतिकार गर्दा हत्या भएको देखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले बताए । उनका अनुसार पक्राउ पर्नेमा लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीया दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङ छन् ।
उनीहरू दुवै लागु औषध प्रयोगकर्ता रहेको प्रहरीको दाबी छ । तिम्सिना जवरजस्ती करणी मुद्दामा १० वर्ष र अनसन लागु औषध मुद्दामा ६ महिना कारागार बसेका व्यक्ति हुन् ।
डिआइजी बास्तोलाका अनुसार पक्राउ परेकाहरु सिलसिलेबर चोरी र लुटपाटको घटनामा संलग्न छन् । धरान– इटहरी सडक खण्डमा भएको चारवटा लुटपाटका घटनामा संलग्न रहेको उनले बताए । उनीहरूले गत असार ८, असार १३, असार ३१ गते पनि यात्रीमाथि पेस्तोल देखाएर लुटपाट गरेका थिए । साउन ५ गते भने लुटपाटको गर्दा प्रतिकार गरेपछि गोली प्रहार भएको थियो । लुटपाटको मुख्य योजनाकार र गोली प्रहार गर्ने व्यक्ती तिम्सिना रहेको प्रहरीले बताएको छ । पक्राउ परेकाको साथबाट हत्यमा प्रयोग भएको पेस्तोल, गोलीलगायतको वस्तु बरामद भएको डीआईजी बास्तोलाले बताए ।
२८ औं जन्मदिनको दिन साथीसँग घुम्नका लागि धनकुटाको मुलघाट पुगेर फर्कनेक्रममा उनीमाथि धरान इटहरी सडक खण्डको सेउती खोलाको पुल दक्षिणतर्फ बाइक रोकेर पिसाब फेर्न गएका बेला गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।