जिल्ला प्रशासन कार्यालय परिसरमा विष सेवन गरेका मिटरब्याज पीडितको मृत्यु

जनता अभियान बिहिबार, साउन १८, २०८०

जिल्ला प्रशासन कार्यालय मोरङमा विष सेवन गरेका मिटरब्याज पीडित विनित सोनारको मृत्यु भएको छ ।

साउन ७ गते जिल्ला प्रशासन कार्यालय मोरङ छलफल सकेर बाहिरिने क्रममा  प्रहरीले पक्राउ गरेपछि कार्यालय परिसरमै विष सेवन गरेका  कटहरी गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय विनित सोनारको बुधबार विहान मृत्यु भएको हो ।

डा. नितेष तिवारी विरुद्ध सोनारकी पत्नी रीता सोनारले  मिटरब्याजबाट पीडित भएको उजुरी दिएकी थिइन् । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुवै पक्षलाई साउन ७ गते छलफलका लागि बोलाएको थियो । जिल्ला प्रशासन कार्यालयमा छलफल पछि बाहिरिने क्रममा  प्रहरीले पक्राउ गरेपछि सुनारले विष सेवन गरेका थिए ।

विष सेवनबाट गम्भीर   घाइते भएका उनलाई कोशी  अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो । नोबेलमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी छेदीलाल कामतीले जानकारी दिए । नितेष तिवारी विरुद्ध मिटरब्याजको उजुरी दिएका सुनारलाई प्रहरीले दुई वटा छुट्टा छुट्टै  चेक बाउन्स मद्धामा पक्राउ पूर्जी जारी गरेको थियो ।

गत साउन ७  गते मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले दुवै पक्षलाई राखेर छलफल गराएका थिए । छलफलमा सहमति भने भएन् । सहायक प्रमुख जिल्ला अधिकारी साहका अनुसार दुई पक्षबीच लेनदेनको कागजात छैन । पीडितले आफूले सात लाख रुपैयाँ ऋण लिएको दाबी गरेका छन् । डाक्टर तिवारीले भने १५ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।

लेनदेनको कागज नदेखिएपनि सोनारले डाक्टर तिवारीलाई चेक दिएका थिए । ऋण लिदा ज्ञारेन्टीका लागि दिएको ब्लाङ्क चेकमा डाक्टर तिवारीले मनलाग्दी रकम भरेर आफूलाई फसाएको सोनारले दाबी गर्दै आएका थिए ।

पहिलो छलफल  निकर्षमा नपुगेपछि सहायक प्रमुख जिल्ला अधिकारी साहले पाँच दिन भित्र मिलेर नआएको अवस्थामा  उजुरीलाई प्रक्रियामा लैजाने बताएका थिए ।

सोनारले विराटनगर महानगरपालिका–७ स्थित आर, के चिल्ड्रेन अस्पतालअगाडि चिया–नास्ताको  सञ्चालन गर्दै आएका थिए । पसल चलाउने क्रममा डा. तिवारीसँग ४ वर्षअघि ७ लाख  ऋण लिएको उनको दाबी छ । उनले १५ लाख तिरेको दाबी गर्दै आएका थिए । अझै १२ लाख तिर्न बाँकी देखाइएको भन्दै मिटरब्याजको उजुरी   दिएका थिए ।

मिटरब्याज पिडितको उजुरी  गरेपछि प्रशासनले छलफलका लागि दुवै  पक्षलाई बोलाएको थियो ।

छलफलका लागि जिल्ला प्रशासन कार्यालय पुगेर फर्कने क्रममा सोनारलाई चेक बाउन्स मुद्दामा पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङको टोली  पुगेको थियो । उनी चेक बाउन्ससँग सम्बन्धित छुट्टा छुट्टै २ वटा जाहेरी परेको छ ।  सोनार विरुद्ध विराटनगरका प्रदीप भुजेलले २ लाख रुपैयाँ र विनोद ढकालले ६ लाख रकम नपाएको भन्दै छुट््टा छुट्टै जाहेरी दिएका छन् ।

दुई वटै  जाहेरीका आधारमा प्रहरीले  पक्राउ पूर्जी जारी गरेको थियो । प्रहरीले पक्राउ गरेपछि उनले  ‘ट्रिक्कल’ नामक विषादी सेवन गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी कमतीले बताए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले विनितको उजुरीमा थप  छलफल हुन नपाएको बताए  । पहिलो बैठकपछि विनितले विष सेवन गरेपछि छलफल रोकिएको उनले बताए ।‘हामीले ३–४ पटक  छलफल गरेर मिलाउने कोशिष  गर्छौ तर उहाँहरुको  केसमा एक  पटक मात्रै छलफल भयो,’  उनले भने,‘ विष  सेवन गरेपछि सो उजुरीमाथिको छलफल नै रोकियो ।’

यहाँ कमेन्ट गर्नुहोस्