युवतीहरूलाई भिडिओ कल गरी आफ्नो गोप्य अङ्ग देखाउने एक पुरुष पक्राउ

जनता अभियान बुधबार, भाद्र ०६, २०८०

सामाजिक सञ्जाल मेसेन्जर मार्फत युवतीहरूलाई भिडिओ कल गरी आफ्नो गोप्य अङ्ग देखाउने एक पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका-४ घर भइ ललितपुर महानगरपालिका वडा नम्बर १९ कुमारिपाटी बस्दै आएका तुफान केसीलाई सोमबार साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो।

उनी विरुद्ध एक युवतीले अश्लील र अपमानजनक व्यवहार गरेको भिडिओ सहित सप्रमाण साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

ब्युरोका प्रवक्ता पशुपति रायका अनुसार, युवतीहरूलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउने र एसेप्ट गर्नेहरूलाई सोझै भिडिओ कल गरी आफ्नो गोप्य अङ्ग प्रदर्शन गर्ने कार्य गरेको बताएका छन्।

युवतीले आफ्नो फेसबुक मेसेन्जरमा अपरिचित व्यक्तिको भिडिओ कल आए पनि चिन्जानकै व्यक्तिको हो कि भनेर कल रिसिभ गर्दा अश्लीलता प्रदर्शन गरिरहेको पुरुष व्यक्ति देखेको बताएकी छन्।

यहाँ कमेन्ट गर्नुहोस्