धरानमा निषेधाज्ञा जारी

जनता अभियान शुक्रबार, भाद्र ०८, २०८०

जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ।

जातीय रुपमा हिंसा भड्किन सक्ने र डेंगु रोग फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षमा आज बसेको सुरक्षा समिति बैठकले संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञा ९ गते राति १२ बजेसम्म लागू हुने छ।

निषेधाज्ञा विभिन्न क्षेत्रमा लागू गरिएको छ। धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका-१ चोकदेखि धरानतर्फको क्षेत्रमा निषेधाज्ञा लागू हुने छ।

यस्तै, धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण बाटो रामधुनी नगरपालिका-६ बाट बराहक्षेत्र नगरपालिका-३ नहडा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।

इटहरी उपमहानगरपालिका-२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका-५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

विभिन्न हिन्दु धर्मसँग सम्बन्धित संघ, संगठनहरूले धरानमा भोलि र्‍याली निकाल्दैछन्।

‘गोरु काट्न पाउनुपर्छ’ भनी सामाजिक सञ्जालमा प्रचार गरेको विरोधमा ती संगठनले र्‍याली निकाल्ने भएपछि हिंसा मच्चिने सम्भावना आँकलन प्रशासनले गरेको छ।

धरानमा जनजाति समूहहरूले खुलेआम गोरु काटेर मासु खाएको भन्दै सामाजिक सञ्जालमा फोटो तथा भिडिओ सार्वजनिक गरिरहेका छन्।

Dao-Sunsari-death1692961501.jpg

यहाँ कमेन्ट गर्नुहोस्