ग्रीसमा तीन नेपालीको अपहरण, फिरौती उठाउने व्यक्ति पक्राउ

जनता अभियान शुक्रबार, भाद्र ०८, २०८०

ग्रीसमा तीन जना नेपालीको अपहरण गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनकुटा महालक्ष्मी नगरपालिका-५ का ३२ वर्षीय शिवराज कुँवर, काठमाडौं तारकेश्वर-५ कुमालटारका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तु शिवराज नगरपालिका-१ का ३२ वर्षीय प्रकाश बेलबासे र पर्वत फलेवास नगरपालिका-१ का ४२ वर्षीय दिलबहादुर थापा रहेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूमध्ये बेलबासे र थापालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो।

मोरङ रंगेली नगरपालिका-२ की वर्षीया सवित्रा थापा, त्रियुगा नगरपालिका-३ का कृष्ण कार्की र काभ्रे नमोबुद्ध नगरपालिका-१ मधुरापाटीका राजन सत्यालको अपहरण गरेको ब्युरोले जनाएको छ। उनीहरू एक साथ वैदेशिक रोजगारीका लागि गत जेठ १२ गते सर्बिया पुगेका थिए।

सर्बियामा चित्तबुझ्दो रोजगारी तथा तलब नपाएपछि उनीहरू लुकिछिपी ग्रीस प्रवेश गर्न खोजेका थिए।

त्यसक्रममा पाकिस्तानी नागरिक र उनका सहयोगी समेतले अपहरण गरी, डोरीले बाँधी शाररिक तथा मानसिक यातना दिए। डर त्रास देखाएर ज्यान मार्ने धम्की दिई पीडितहरूको नेपालमा रहेका परिवारसँग १५ हजार युरो (पन्ध्र हजार) फिरौती मागे।

ग्रीस तथा दुबईबाट ह्वाट्सएपमार्फत पीडितका परिवारहरूलाई सम्पर्क गरी २१ लाख ७५ हजार रुपैयाँ लिएका थिए। त्यस घटनामा नेपालमा फिरौती रकम लिने व्यक्तिहरू पक्राउ परेको ब्युरोले जनाएको छ।

सुरूमा प्रहरीले कुँवरलाई भदौ २ गते पक्राउ गरेको थियो। उनी नेपालमा फिरौती रकम लिने व्यक्ति हुन्। अर्याल नेपालमा फिरौती लिएको रकम शिवराज कुँवरसँग लिने सम्पर्क भएको व्यक्ति हुन्।

बेलबासे दुबईबाट नेपालमा शिवराज कुँवरलाई फिरौती रकम लिन लगाउने तथा रामेश्वर अर्याललाई रकम दिनु भन्ने व्यक्ति हुन्।

थापा दुबईमा प्रकाश बेलबासेलाई रकम नेपालको रामेश्वर अर्याललाई दिनु भनी सम्पर्क नम्बर दिने व्यक्ति हुन्।

फिरौती बुझाएपछि नेपाली अपहरणमुक्त भएका छन्। उनीहरूलाई स्वदेश फर्काउने तयारी भइरहेको छ।

पक्राउ परेकाहरूलाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान भइरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्