कोशीमा एमालेको सरकार बन्छ, मज्जाले चल्छ : ओली

जनता अभियान शुक्रबार, भाद्र ०८, २०८०

कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमालेको नेतृत्वमा  सरकार बन्ने र चल्ने बताएका हुन् ।

ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता देखिएको बताए ।  ‘सत्ता पक्षले नबनेको सरकार बन्यो भन्ने, सभामुखलाई राजीनामा गर्न लगाउने जस्ता काम  गर्ने,’ उनले भने,‘कांग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरेको, संविधान मिच्ने ? ’

हिजो हतियार उठाएर हिंडेको माओवादीले संविधान नमान्नु ठूलो विषय नभएको बताउँदै उनले भने, ‘कांग्रेसले त मान्नुपर्थ्यो नि कमसेकम ?’

अबको निकास के भन्ने प्रश्नमा ओलीले भने, ‘एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । एमालेले मज्जाले चलाउँछ ।’ सरकार चलाउन त ४७ (बहुमत) पुर्याउनु पर्ला नि भन्ने अर्को प्रश्नमा ओलीले भने,‘४७ होइन, ५० भन्दा माथि जान्छ ।’

यहाँ कमेन्ट गर्नुहोस्