जनता अभियान आइतबार, भाद्र १०, २०८०

ललिता निवासको सरकारी जग्गा घोटाला प्रकरणमा २९० जनाविरूद्ध मुद्दा दर्ता भएको छ।
जिल्ला अदालत काठमाडौंमा आइतबार चार पूर्वमन्त्रीसहितका व्यक्तिविरूद्ध सरकारी लिखत कीर्ते कसुर गरेको अभियोगमा मुद्दा दायर भएको हो।
मुद्दा चलाइएका मन्त्रीहरूमा पूर्वउपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशी, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र पूर्वराज्यमन्त्री सञ्जयकुमार साह छन्।
उक्त प्रकरणमा १८ अर्ब बिगो दाबी गरिएको छ। यसमा मुलुकी ऐन, २०२० अनुसारको बिगो दाबी माग गरिएको छ।
नेपाल प्रहरीको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दिएको रायसहितको प्रतिवेदनका आधारमा मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयका महेश खत्रीले बताए।
मुद्दा दायर भएकाहरूमा सञ्चार मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सहसचिव सुशील वैद्य पनि छन्।
ब्युरोले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई साक्षीका रूपमा मात्रै पेश गरेको थियो।
२०४९, २०६०, २०६२, २०६७ र २०६९ सालमा विभिन्न सरकारी निकायबाट निर्णय भएर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको थियो।