जनता अभियान बिहिबार, भाद्र १४, २०८०

एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ।
मुल्तान क्रिकेट स्टेडियममा भएको उद्घाटन खेलमा पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो।
नेपालका सोमपाल कामीले ४६ बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए। आरिफले ३८ बलमा ५ चौकासहित २६ रन बनाए। सोमपाल र आरिफ बाहेक अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालको यो ओडिआईमा रनको हिसाबमा सबैभन्दा ठूलो फराकिलो अन्तरको हार हो। यसअघि वेस्टइन्डिजविरुद्ध १ सय १ रनले हार्न पुगेको थियो।
नेपालका गुलशन झा १३, दीपेन्द्रसिंह ऐरी ३, कुशल मल्ल ६, सन्दीप लामिछाने र ललित डक आउट भए। करण ७ रनमा नट आउट रहे।
पाकिस्तानका शादब खानले ६.४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए। शाहिन शाह अफ्रिदीले ५ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। हरिस रौफले दुई, नसिम शाह र मोहम्मद नवाजले एक एक विकेट लिए ।
त्यसअघि मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो।