जनता अभियान शनिबार, भाद्र १६, २०८०

भारतको जगनगरबाट सिरहा आउँदै गरेका दुई जना व्यक्ति स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिरहा नगरपालिका-१७ माडरका ५२ वर्षीय प्रेमकुमार यादप र वडा नम्बर ७ हेमनारायण चोक बस्ने ४२ वर्षीय सञ्जयकुमार साह रहेका छन्।
सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्रराज पाण्डेका अनुसार उनीहरूलाई सिरहा नगरपालिका-७ माडर कालीचोकबाट शुक्रबार पक्राउ गरिएको हो।
उनीहरू बिआर७सी ४२२४ नम्बरको स्यान्ट्रो कारमा सवार थिए। उक्त कारको अगाडिको सिटमुनिबाट ४४ लाख रुपैयाँ स्रोत नखुलेको रकम बरामद भएको पाण्डेले बताए।
गोप्य सूचनाका आधारमा प्रहरी चौकी सिरहा र इलाका प्रहरी कार्यालय माडरको टोलीले दुबैलाई पक्राउ गरेको उनले बताए।
दुबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाउने तयारी भइरहेको छ।