मलंगवाको कर्फ्यु हट्यो, २७ गतेसम्म निषेधाज्ञा जारी

जनता अभियान आइतबार, भाद्र २४, २०८०

सर्लाहीको सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ। कर्फ्यु हटेपनि प्रशासनले  तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ।

शुक्रबार कृष्ण जन्माअष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप भएको थियो।

झडपपछि मलंगवा बजार क्षेत्र अशान्त बन्दै गएको थियो।

स्थिति नियन्त्रणबाहिर जाने देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

भदौ २२ गते शुक्रबार राति मूर्ति सेलाउने क्रममा भएको विवाद सम्बन्धी विषयलाई लिएर साविक मलंगवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले कर्फ्यू लगाइएको थियो।

निषेधित क्षेत्र तोकिएको स्थानमा भेला र  सभा सम्मेलन गर्न पाइने छैन।

आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाही समेत गर्न सक्ने चेतावनी दिइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्