शिक्षक आन्दोलनले काठमाडौं अस्तव्यस्त

जनता अभियान बिहिबार, आश्विन ०४, २०८०

शिक्षकहरूले आन्दोलन गरेपछि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।

शिक्षकहरू माइतीघर मण्डलामा आन्दोलनमा बसेपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले ठाउँ-ठाउँमा सवारी डाइभर्सन गरेको छ।

विद्यालय शिक्षा ऐन विधेयकको विरुद्धमा शिक्षकहरूले आन्दोलनमा होमिएका हुन्। बिहीबार गृहमन्त्री र शिक्षकहरूबीच वार्ता भए पनि बिना निष्कर्ष टुंगिएको थियो।

बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल बिना निष्कर्ष टुंगिएको हो।

बिहान ८ देखि ९ बजेसम्म नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहित विभिन्न दलनिकट शिक्षक संगठनका पदाधिकारीहरूसँग गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोककुमार राई, शिक्षासचिव सुरेश अधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल गरेका थिए।

माइतीघर-नयाँ बानेश्वर सञ्चालन हुने सवारी साधनलाई विभिन्न स्थानबाट डाइभर्सन गरिएको उक्त कार्यालयले जनाएको छ।

माइतीघरबाट बानेश्वरस्थित बेकरी क्याफेसम्मको लागि र्‍याली भइरहेको छ। नयाँ बानेश्वर चोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

तीनकुने, कालिमाटी, बल्खुबाट ठूला सवारी साधनलाई र साना सवारीसाधनलाई नयाँबानेश्वर, थापाथली, हनुमानस्थान बबरमहल, बिजुलीबजार लगायतका चोकहरूबाट डाइभर्सन गरिएको छ।

नयाँ बानेश्वरसम्मको लागि भइरहेको र्‍यालीका कारण सवारी साधन डाइभर्सन गरिँदा भद्रकाली, त्रिपुरेश्वर, रणोद्वीप चोक, थापागाउँ, अनामनगर, कालिकास्थान, सिंहदरबार, पुतलीसडक, शान्तिनगर, तीनकुने गैरीगाउँ, नयाँ बानेश्वर पानीट्याङकी, कुपण्डोल, सोह्रखुट्टे, जय नेपाल, कृष्ण पाउरोटी लगायतका चोकमा सवारी साधन चापमा चलिरहेका छन्।

सहज यात्राका लागि पैदलयात्री तथा सवारी चालकलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्