राजसंस्था र हिन्दु राष्ट्र पुन:स्थापनाका लागि तेस्रो जनआन्दोलन सुरू भएको कमल थापाको घोषणा

जनता अभियान सोमबार, आश्विन १५, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दु अधिराज्य ल्याउनका लागि तेस्रो जनआन्दोलन सुरू गरेको बताएका छन्।

आइतबार वीरगन्जमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष थापाले संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यावस्था र शासकहरूबाट मुक्तिको लागि विकल्पमा राजासहितको प्रजातान्त्रिक व्यावस्था ल्याउन आन्दोलन सुरू गरेको बताएका हुन्।

राजसंस्था, हिन्दु राष्ट्र ल्याउन र जनताले चुनेको प्रधानमन्त्रीबाट देशको आर्थिक समृद्धि गर्ने राप्रपा नेपालको मुख्य उद्देश्य रहेको थापाले बताए।

‘राष्ट्रियता र एकताको प्रतीकको रुपमा राजसंस्थालाई कायम राख्न सक्यौं भने यो देशको अस्तित्व शान्ति र आर्थिक समृद्धि सुनिश्चित हुने भएकोले राजालाई पनि ठाउँ दिनुपर्छ,’ उनले भने।

राजादेखि माओवादीदेखि सबै अटाउने व्यवस्था नै नेपालको आर्थिक समृद्धिको मूल आधार भएकाले कसैलाई निषेध नगरी राजसंस्थासहितको प्रजातन्त्र ल्याउन सम्भव भएको थापाले बताए।

देशको भूराजनीतिक अवस्था, धार्मिक, सांस्कृतिक परिवेशले पनि राजनीति भन्दामाथि एउटा संस्था आवश्यक हुन्छ भन्ने विगत १७/१८ वर्षको राजनीतिक व्यवस्थाले आवश्यकता औंल्याएकोले अब राजसंस्था र हिन्दु राष्ट्र स्थापना गरी राजासहितको प्रजातन्त्रको पुन:स्थापना गर्नुपर्ने थापाले बताए।

गणतन्त्र स्थापनापछि बनेका तीन वटै राष्ट्रपति राष्ट्रको ‘पति’ हुन नसकेको तर्क गर्दै थापाले पार्टीको राष्ट्रपति होइन देश र जनताको राष्ट्र प्रमुखको आवश्यकता भएकोले राजसंस्थालाई पुन:स्थापना हुनुपर्छ भन्ने मान्यता लिएर आएको बताए।

प्रधानमन्त्री बनाउँदा र हटाउँदा विदेशीको इसारामा बन्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै थापाले जनताले देशको प्रधानमन्त्रीजस्तो नलागेको दाबी गरे।

अबको व्यवस्था राजा अभिभावक र जनताले आफैंले भोट हालेर जिताएको प्रधानमन्त्री चाहिएकोले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनपर्ने थापाको भनाइ थियो। सरकार आफैं तस्करी र भ्रष्टाचारमा लागेको बताउँदै यसको अन्त्य गर्न यो सरकारले नसक्ने ठोकुवा थापाले गरे।

राजनीतिक नेताहरूको अकर्मण्यताले गर्दा लाखौं युवाहरू विदेश पलायन हुन बाध्य भएको थापाले बताए।

राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश साहको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजीव पराजुली, उपाध्यक्ष तारानाथ लुइँटेल, वरिष्ठ नेता विष्णु भट्टराई महामन्त्री राजाराम बर्तौला, शम्भु चौरसियालगायतले बोलेका थिए।

यहाँ कमेन्ट गर्नुहोस्