विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास ५०० जरिवाना तिरेर रिहा

जनता अभियान बिहिबार, आश्विन १८, २०८०

उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवास रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई ५०० रुपैयाँ जरिवाना तिराएर बिहिबार रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

उत्तेजक अभिव्यक्ति दिएर हिंसा मच्चाउन खोजेको आरोपमा श्रीनिवासलाई बराहक्षेत्रबाट मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो र क्षेत्रीय अनुसन्धान ब्युरोको टोलीले निवासलाई पक्राउ गरेको हो।

श्रीनिवासलाई केही कुरामा अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए।

‘केही कुरामा उहाँमाथि अनुसन्धान गर्नुपर्ने भएकाले उपस्थित गराइएको हो, यसबारे अरू सबै कुरा भन्न मिल्दैन,’ उनले भने, ‘अनुसन्धान भइरहेकाले सबै कुरा भन्न नमिलेको हो।’

श्रीनिवासले एक साताअघि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर गौहत्याको विषयमा हिंसात्मक अभिव्यक्ति दिएका थिए।

हिन्दुको बिरोध गर्ने र गौहत्या गर्नेलाई खुकुरीले काट्न उक्साउँदै उनले त्यसको जिम्मेवारी आफू लिने आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

सोही अभिव्यक्तिलाई लिएर जिल्ला प्रहरी कार्यालय धनुषाले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले बताएको छ।

उनलाई धनुषा पठाउने तयारी प्रहरीको छ। श्री निवास सुनसरीको बराह नगरपालिकास्थित आश्रममा बस्दै आएका थिए।

यसअघि आफैंलाई गोली हान्न लगाएर धार्मिक द्वेष फैलाउन खोजेको अभियोगमा उनी पक्राउ परेका थिए।

उनी नेपाललाई हिन्दु राज्य कायम गर्नुपर्ने माग गर्दै विगतमा भएका आन्दोलनमा निकै सक्रिय छन्।

यहाँ कमेन्ट गर्नुहोस्