विश्वकप क्रिकेट : भारतद्वारा अष्ट्रेलिया ६ विकेटले पराजित

जनता अभियान सोमबार, आश्विन २२, २०८०

आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गतको खेलमा भारतले अष्ट्रेलियालाई पराजित गरेको छ । भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो। जारी प्रतियोगितामा भारतको यो पहिलो जित हो।

भारतको चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रन बनायो। भारतले दुई सय रनको विजय लक्ष्य ४१ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो।

भारतका लागि केएल राहुलले अविजित ९७ रन बनाए। उनले ११५ बलमा दुई छक्का र आठ चौका प्रहार गरे। यस्तै विराट कोहली ८५ रन, हार्दिक पण्ड्याले अविजित ११ रन बनाए।

यसअघि टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रनको बनाए। यस्तै डेविड वार्नर ४१, कप्तान प्याट कमिन्सले १५ र मिचेल स्टार्कले २८ रन बनाउन सके।

बलिङतर्फ भारतका रवीन्द्र जडेजाले तीन, कुलदीप यादव र जस्प्रित बुमराहले दुई/दुई तथा हार्दिक पान्ड्या, मोहम्मद शिराज र रविचन्द्रन आश्विनले एक-एक विकेट लिए।

यहाँ कमेन्ट गर्नुहोस्