दसैंको बेला कोशी प्रदेशमा थप साढे ७ हजार प्रहरी परिचालन

जनता अभियान आइतबार, कार्तिक ०५, २०८०

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले चाडपर्वलाई सुरक्षित बनाउन चाडपर्व सुरक्षा कार्य योजना २०८० अनुसार थप प्रहरी परिचालन गरेको छ।

चाडपर्व सुरक्षा कार्य योजना अनुसार कार्यालयले प्रदेशमा ७ हजार ५ सय १५ जना प्रहरी जनशक्ति परिचालन गरेको छ।

जिल्लाको सुरक्षा व्यवस्थालाई मजबुद बनाई आम नागरिकमा सुरक्षित र भयरहित तवरबाट चाडपर्व मनाउनका लागि प्रहरीले सुरक्षाकर्मी थप परिचालन गरेको हो।

बैङ्क तथा वित्तीय संघ-संस्थाहरूमा हुने कारोबार सुरक्षित बनाउन, विभिन्न गन्तव्यसम्म जाने यात्रुहरूलाई पूर्णसुरक्षाको प्रत्याभूति दिलाउन र कुनै किसिमको अप्रिय घटना, दुर्घटना हुन नदिन चाडपर्व सुरक्षा योजना  तयार गरी योजनाबद्ध रूपमा प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले बताए।

चाडपर्वको समयमा हुन सक्ने अवान्छित, आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण र विगतको घटनालाई विश्लेषण गरी चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार प्रदेशस्तरीय कमाण्ड पोष्ट स्थापना गरिएको छ। कमाण्ड पोष्ट १४ वटै जिल्लाहरूमा स्थापना गरिएको उनले बताए।

यसैगरी, प्रदेश रिजर्भ टोली चार वटा, जिल्ला रिजर्भ टोली २६ वटा र जिल्लाहरूमा १७ वटा स्ट्राइकिङ टोली तयार गरी परिचालन गरिएको छ। यस्तै, विशेष चेकिङ, नियमित चेकिङ, रात्रिकालीन चेकिङ, ट्राफिकसहित संयुक्त चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, मोटरसाइकल गस्ती, साइकल गस्ती तथा विभिन्न स्थानमा पिकेट ड्युटी खटाई सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरीले जनाएको छ।

बजार क्षेत्र, बैंक, वित्तीय संघ-संस्था एकान्त ठाउँ, मानिसको बढी भिडभाड हुने स्थानहरूमा शान्ति सुरक्षाको निम्ति पैदल तथा मोबाइल गस्ती र सादा पोशाकमा परिचालन गरिएको छ भने चोक बजारलगायत विभिन्न स्थानमा रहेका सिसिटिमीको निगरानीसमेत बढाइएको छ।

अन्तर्राष्ट्रिय सिमानाका तथा अन्तर जिल्लाका नाकाहरूमा अवैध सामान तथा बिष्फोटक पदार्थ भित्रिन नदिन मुख्य नाका तथा शंकास्पद स्थानहरूमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरी शंकित व्यक्ति तथा सवारीसाधनहरूमा कडाइका साथ चेकजाँचको व्यवस्था मिलाइएको छ।

सवारी दुर्घटना न्यूनीकरण, यात्रु सहजीकरण तथा यात्रुहररू ठगिन नदिन यात्रु सहायता कक्षको स्थापना गरी सञ्चालनमा ल्याइनुका साथै राजमार्गहरूमा २४ सै घण्टा संयुक्त रुपमा ट्राफिक प्रहरीसहितको विशेष चेकिङ गरिँदै आएको छ।

सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठान, धार्मिक स्थल, उधोग कलकारखानाहरूको सुरक्षाको निम्ति आवश्यक पैदल तथा मोबाइल गस्तीसहित थप प्रहरी परिचलान गरिएको छ भने पहाडी भेगहरूमा शान्ति सुरक्षाको निम्ति लामो तथा छोटो ग्रामीण गस्ती, बजार गस्ती, खबर संकलनसमेत गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको छ।

यसैगरी, बजारमा खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तुको बिक्री वितरण सहज बनाउन सरोकारवाला निकायसँग समन्वय गरी बजार अनुगमन समेत गरिँदै आइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्