पाँचथरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६३ जना घाइते

विनोद मेहता सोमबार, कार्तिक ०८, २०७८

पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । फदिम–४ स्थित मध्य पहाडी लोकमार्गको सगरखण्डेमा सोमबार बिहान ११ बजे भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । उनका अनुसार दुर्घटनामा अरू ६३ जना घाइते बनेका छन् । घाइतेहरूको पाँचथर अस्पताल, पाथीभरा अस्पताल र समर्पित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरूलाई झापातर्फ रेफर गर्ने तयारी भइरहेको विश्वकर्माले बताए । को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुरमा सडकबाट झरेर दुर्घटनामा परेको हो ।

अर्को सवारीको साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा सडकबाट करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरू घाइते भएका थिए । दुर्घटनामा परेर उपचारका लागि लाँदै गर्दा एक बालक र एक महिलाको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरुको पहिचान भने खुलेको छैन । ४४ सिट क्षमताको उक्त बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १५ भन्दा धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सिकिस्त घाइतेलाई झापा र विराटनगरका अस्पतालमा रिफर गरिएको पाँचथर अस्पतालका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताए । दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कँदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका सर्वसाधारण दुर्घटनामा परेका हुन् । कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रुहरू ट्याक्सीबाट खोलासम्म आएर बस चढेका थिए । दुई किलोमिटर दूरी पार नहुँदा बस दुर्घटनामा परेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्