गठबन्धन टुटाउन अनेक कसरत भइरहेका छन् : प्रधानमन्त्री दाहाल

जनता अभियान बिहिबार, कार्तिक ०९, २०८०

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन टुटाएर सरकार ढाल्न अनेक कसरत भइरहेको बताएका छन्।

रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका-६ मग्गामा आयोजित सहिद स्मृति मेला उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर गएका दलहरूबीच एकता आवश्यक रहेको बताए।

कसले त्यस्तो षडयन्त्र गरिरहेको छ भन्ने उल्लेख नगरी प्रधानमन्त्री दाहालले अनेकन षड्यन्त्र चिरेर सरकारअघि बढ्ने पनि बताए। उनले कांग्रेससँगको गठबन्धन र सरकारले पाँच वर्ष पूरा गर्ने विश्वास समेत दिलाएका छन्।

सरकार ढाल्न र गठबन्धन फुटाउनतर्फ केही दल लागि परेको उनले आरोप लगाए। सरकारले पछिल्लो समय सामाजिक न्यायका लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरू सरकार ढाल्ने प्रयासमा रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैं अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रसँगको कूटनीतिक सम्बन्ध सुदृढ बनाउन सफल भएको बताए।

यहाँ कमेन्ट गर्नुहोस्