मोरङ क्याम्पसमा आंशिक शिक्षकको धर्ना

Janata Abhiyan बुधबार, आषाढ ३०, २०७८

विराटनगर । महेन्द्र मोरङ क्याम्पसका आंशिक शिक्षकहरु आन्दोलित भएका छन् । तीन बुँदे मागसहित उनीहरु क्याम्पसको मुख्य प्रवेशद्वारमा धर्नामा बसेका हुन् । विभिन्न संकायमा कार्यरत ८३ जना शिक्षकले आफूहरुको आन्तरिक करारबाट व्यवस्थापन गरिनु पर्ने माग गरेका हुन् ।

 

आशिंक शिक्षक संघले २०७५ माघमा त्रिभुवन विश्वविद्यालयका भिसी र रजिष्टारसँग आन्तरिक करारमा व्यवस्थापन गर्दै जाने सम्झौता गरेका थिए । त्यहि सम्झौता कार्यन्वयनका लागि क्याम्पसले पहल नलिएको भन्दै उनीहरु धर्नामा बसेका हुन् ।

आंशिक शिक्षक संघ मोरङ क्याम्पस इकाई संयोजक भवेश मिश्राका अनुसार मोरङ क्याम्पसमा करार शिक्षक व्यवस्थापनका लागि विश्वविद्यालयले प्रतिवेदन माग गरेको थियो । क्याम्पसले अध्ययन समिति बनाएर आवश्यक शिक्षकको संख्या सिर्जना गरेको थियो । तर, क्याम्पस प्रशासनले उक्त प्रतिवेदन विपरित १६ जना मात्रै करार शिक्षकको माग गरेको छ । प्रतिवेदनमा करार शिक्षक व्यवस्थापनका लागि आवश्यक पर्ने संख्या त्यति मात्रै नभएको संयोजक मिश्रले बताउनुभयो ।

लामो समयदेखि कार्यरत उनीहरुले आन्तरिक करारमा व्यवस्थापन गरिनु पर्ने माग गरेका छन् । त्रिभुवन विश्वविद्यालयले नयाँ शिक्षकलाई करारमा भर्ना लिन नपाउने र यदि करार सिर्जना गरिएको अवस्थामा आंशिकलाई प्राथमिकतामा दिनुपर्नेमा आन्दोलनरत शिक्षकको जोड छ ।

यहाँ कमेन्ट गर्नुहोस्