जनता अभियान आइतबार, कार्तिक १२, २०८०

बारामा चोरीको मोटरसाइकल समात्न हिँडेका प्रहरी जवानको आफैं दुर्घटनामा परेर मृत्यु भएको छ।
मृत्यु हुनेमा कञ्चनपुर भीमदत्त नगरपालिका-११ घर भई हाल इलाका प्रहरी कार्यालय बारामा कार्यरत् जवान आकाश सुनार रहेका छन्।
बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार शनिबार बिहान मोटरसाइकल चोरी गरी लैजाँदै गरेको सूचना पाएपछि ड्युटीमा निस्केका सुनार दुर्घटनामा परेका थिए।
उनी सवार ज१२प७१५४ नम्बरको मोटरसाइकल जितपुर-सिमरा उपमहानगरपालिका-१६ ग्रीनलाइट होटल अगाडि दुर्घटनामा परेको न्यौपानेले बताए।
टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा एलएस अस्पतालमा मृत्यु भएको न्यौपानेले बताए। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।
जितपुर-सिमरा-८ बाट सोही नगरपालिकाको वडा नम्बर १६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको सूचना पाएपछि उनी ड्युटीमा खटिएका थिए।