बिनाेद मेहता बुधबार, कार्तिक १५, २०८०

सुनसरी । सुनसरीको देवनागञ्ज गाउँपालिका–३ का ५५ वर्षिय शिवनारायण मण्डलले आफुमाथि अन्याय भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । भुमिहिन र अव्यस्थित बसोबासी व्यवस्था सहजिकरण समितिको निर्णयमा आफुमाथि भएकोमा विषय कार्यान्वयन नभएको र अन्याय भएको भन्दै कानुनी कारबाहीको माग गर्दै उनले निवेदन दिएका हुन् ।
मण्डलले आफूलाई अन्याय गर्ने पाँच जनाविरुद्ध कार्तिक १३ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा निवेदन दिएका हुन् । मण्डलले देवनागञ्ज गाउँपालिका–३ का वडाध्यक्ष अनिलकुमार भगत, वडा सदस्य कमलेश यादव, वडा सचिव वविताकुमारी मेहता, कर्मचारी माधवप्रसाद मेहता र देवनागञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता विरुद्ध कारबाहीको माग गर्दै प्रशासनमा निवेदन दिएका हुन् ।
निवेदक मण्डलले आफू भुमिहिन दलित सुकुम्बासी भएकोमा आवाशको हक सुनिश्चित गर्नुपर्नेमा त्यस विपरित देवनागञ्ज गाउँपालिका–३ का वडा पदाधिकारीहरु र गाउँपालिका समेतले सुन्योजित रूपमा फारम भरे पनि अनलाइनमा आफ्नो नाम नचढाएको आरोप लगाएका छन् ।
मण्डलले निवेदनमा वडा कार्यालयले भुमिहिन आदिवासी र सुकुम्बासी तथा अव्यस्थित बसोबासीको सूचना प्रकाशन गरेकोमा आफूले पनि सुकुमबासी आदिवासी भएको फारम भरेर बुझाउँदा २०७९ साउन ९ गतेको वडा निणर्य अनुसारको सुचिमा दोस्रो नम्बरमा नाम भए पनि पालिकाले अपलोड गरेको अनलाइन फारममा आफनो नाम नभएकाले अन्यायमा परेको गुनासो गरेका छन् । वडा स्तरमा सहजिकरण समितिको निर्णय भएकोमा सो विषय कार्यान्वयनका लागि नामावली प्रकाशन हुदाँ आफ्नो नाम नै नभएकाले अन्याय गरेको दावी सहित कानुनी कार्वाहीको माग गर्दै सुनसरी प्रसाशनमा उजुरी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले उनले दिएको निवेदन आवश्यक कार्वाहीका लागि सुकुम्बासी समस्या समाधन आयोग तहाचल काठमाडौं पठाएको जनाएको छ ।