जनता अभियान सोमबार, कार्तिक २०, २०८०

विभिन्न देशमा भिजिट भिसामा जाने व्यक्तिहरूको नक्कली कागजात बनाउने कार्यमा गिरोह नै सक्रिय रहेको खुलेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा चाहिने कागजातहरू नक्कली बनाएको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पूर्वीनवलरासी मध्यविन्दु नगरपालिका-५ का ४५ वर्षीय जयराम श्रेष्ठ, गोरुखा सानचोक गाउँपालिका-८ घर भई काठमाडौं टोखा बस्ने ३४ वर्षीय भक्तबहादुर थापा छन्।
यस्तै, पक्राउ पर्नेमा काठमाडौं-१ नक्साल बस्ने ३८ वर्षीय दीपक की र सल्यान घर भई काठमाडौं नागार्जुन बस्ने ४२ वर्षीय बलबहादुर रावत रहेका छन्।
प्रहरीले अन्य चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उनीहरूको परिचय खुलाइएको छैन।
उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी लिखत सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।
त्रिभुवन विमानस्थल हुँदै भिजिट भिसामा जाने व्यक्तिहरूको कागजात चेकजाँच गर्दा शंका उत्पन्न भएपछि कार्यालयको टोली अनुसन्धानमा जुटेको थियो।
अनुसन्धानको क्रममा राहदानीसहितका कागजात १०३२ थान बरामद भएका छन्।
यसक्रममा नक्कली बैंक स्टेटमेन्ट १३९, नक्कली नाता प्रमाणित १५, प्रहरी रिपोर्ट २५, श्रम स्वीकृति ४०, कोभिड-१९ को स्केन १३, प्लस टु पासको नक्कली सर्टिफिकेट ६१, एसएलसीको ३ थान नक्कली कागजात बरामद भएको रेग्मीले बताए।
भिजिट भिसामा विदेश जानेहरूको कागजातमा शंका लागेपछि प्रहरीले केही कागजात बैंक, परीक्षा नियन्त्रण कार्यालय, स्थानीय तहमा पत्राचार गरेको थियो। पत्राचार गर्दा नक्कली कागजात बनाएको पुष्टि भएको रेग्मीले बताए।
अनुसन्धानको क्रममा पक्राउ परेकामध्ये जयराम श्रेष्ठले विभिन्न व्यक्तिहरूबाट राहदानी संकलन गरी कुन-कुन कागजात बनाई दिनुपर्छ भनी बुझ्ने गरेको र रकमको कुरा समेत गर्ने गरेको खुलेको छ।
भक्तबहादर थापालाई जयराम श्रेष्ठले विभिन्न व्यक्तिहरूबाट प्राप्त गरेको राहदानी आएको जानकारी दिने र बनाउनु पर्ने कागजातहरूको बारेमा बताउने गर्थे। साथै रकमको बारेमा कुरा गरी टिकट बुकिङ र होटल बुकिङ गर्ने काम गर्थे।
दीपक केसीलाई भक्तबहादुर थापाले ह्वाट्सएपमा विभिन्न व्यक्तिहरूबाट संकलन गरेको राहदानीको फोटो खिची विभिन्न नक्कली कागजातहरू बनाउन अर्डर दिने गर्थे। उनीहरूले प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म लिई काम गरेको खुल्न आएको छ।
बलबहादुर रावतलाई दीपक केसीले ह्वाट्सएपमा विभिन्न व्यक्तिहरूबाट संकलन गरेको राहदानीको फोटो खिची प्ततिव्यक्ति पाँच हजार रुपैयाँका दरले नक्कली कागजातहरू बनाउन अर्डर दिने र बलबहादुर रावतले नक्कली कागजातहरू बनाउने काम गर्थे ।
रावतले भिसा, हवाई टिकेट, श्रम स्वीकृत, बैंक स्टेटमेण्ट, चारित्रिक प्रमाण पत्र लगायतका कागजातहरू इडिट गरी लोगो, स्थानीय तहको ठेगाना परिवर्तन, शैक्षिक योग्यताको नक्कली कागजातहरू बनाउने गर्थे।
प्रहरीले अनुसन्धानका सिलसिलामा नेशनल स्कुल अफ साइन्स कलेज लैनचौर, बागेश्वरी कलेज, पशुपति कलेज लेखिएको शैक्षिक प्रमाण पत्र र लेटरप्याड बरामद गरेको छ।
उच्च माध्यमिक शिक्षा परिषद्, एनआइसी उच्च माध्यमिक विद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड, एसएलसी शैक्षिक प्रमाण पत्र, त्रिभुवन विश्वविद्यालय लेखिएको विभिन्न व्यक्तिहरूको कागजातहरू ५९३ थान बरामद भएको रेग्मीले बताए।
यस्तै, स्थानीय तहको जन्मदर्ता कागजातहरू ११ थान, सानिमा, नबिल, प्रभु, एनआइसी एसिया, सनराइज बैंकलगायतको स्टेटमेन्ट तथा चेक १९३ थान बरामद भएको छ।
एचएसइबी लेखिएको होलो ग्राम, सिटिइभिटीको स्टिकर, सवारी चालक अनुमति पत्र, राहदानी, निर्वाचन पत्र, भारत सरकारको आधार कार्ड, नागरिकताका कागजातहरू ७०५ थान बरामद भएको छ।
यस्तै, विभिन्न सरकारी तगा निजी कार्यालयहरूको छाप २९० थान, लेमिनेसन मेसिन, ल्यापटप, प्रिन्टर, पेनड्राइभलगायत बरामद भएको रेग्मीले बताए।
यो समूहले कतार, कुवेत, दुबई, युक्रेन, रुसजस्ता मुलुकहरूमा जानेहरूलाई नक्कली कागजात बनाइदिने गरेका थिए।
उनीहरूले स्वयम्भू र टोखामा फ्ल्याट भाडामा लिएर नक्कली कागजात बनाउने गरेका थिए।