कराँते प्रशिक्षक विनोद राउत र सुरज सुवेदी बलात्कारी ठहर, आठ वर्ष कैद फैसला

जनता अभियान बुधबार, कार्तिक २२, २०८०

कोशी प्रदेशका दुई जना कराँते प्रशिक्षक बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।

सामूहिक बलात्कारको आरोप लागेका प्रशिक्षक विनोद राउत र सुरज सुवेदीलाई जिल्ला अदालतले दोषी ठहर गरेको हो।

न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलालले बुधबार दुबैलाई जनहीँ आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना सजाय तोकेको हो।

विराटनगरको एउटा नर्सिङ कलेजकी १९ वर्षीया छात्रामाथि सामूहिक बलात्कार गरेको आरोप उनीहरूमाथि थियो।

जबरजस्ती करणी मुद्दामा सात र सामूहिक बलात्कारमा थप एक वर्ष गरी दुबै जनालाई आठ वर्ष कैद सजाय तोकिएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी ओमराज सुवेदीले बताए।

विराटनगर-४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव थिए। ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज थिए।

मुनाल पथस्थित विराट होटलमा सुवेदी र राउतले सामूहिक करणी गरेको आरोप थियो।

दुबैले छात्राको अश्लील भिडिओ बनाएर पटक-पटक जबरजस्ती करणी गरेको जाहेरी परेको थियो।

मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अन्तर्गत सजाय माग दाबी गर्दै उनीहरूविरूद्ध मुद्दा दायर भएको थियो।

दुबैलाई जबजरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म र दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो।

गत वर्ष जेठ महिनादेखि ती छात्रामाथि जबरजस्ती करणी भएको मुद्दा दायर भएको थियो। अन्तिमपटक असार २८ गते बलात्कार भएको उजुरी परेपछि दुबैलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको थियो।

दुबै जना भदौ महिनामा पुर्पक्षका लागि कारागार चलान भएका थिए।

यहाँ कमेन्ट गर्नुहोस्