जनता अभियान शनिबार, कार्तिक २५, २०८०

नेपाल प्रहरीले तिहारमा पटका, भूइँचम्पा, आतसबाजीजस्ता विस्फोटक पदार्थ नपड्काउन अनुरोध गरको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले पटका, भूइँचम्पा, आतसबाजीजस्ता कार्यहरु कानुनद्वारा बर्जित गरिएकाले त्यस्ता कार्यहरू नगर्न अनुरोध गरेको हो।
तिहार, नेपाल सम्बत्, छठ पर्वका अवसरमा सुरक्षाका लागि आकस्मिक रुपमा चेक प्वाइन्ट खडा गर्ने र भिडभाड हुने स्थानमा ड्रोनमार्फत निगरानी गरिने कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
लङ्गुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन समेत अपिल गरिएको उनले बताए।
नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजान समेत कार्यालयले अपिल गरेको छ।
त्यस्तै, सकेसम्म डिजिटल प्रविधिमार्फत् रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकको ओटिपी कोड सुरक्षित राख्न पनि अनुरोध गरिएको प्रवक्ता मैनालीले जानकारी दिए।
त्यस्तै, चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्न पनि अनुरोध गरिएको उनले बताए।