लक्ष्मीपूजाको राति मोरङ उर्लाबारीमा आगलागी, असईसहित २८ जना गम्भीर घाइते

जनता अभियान सोमबार, कार्तिक २७, २०८०

मोरङको उर्लाबारीमा आगलागी हुँदा प्रहरीसहित २८ जना जलेर गम्भीर घाइते भएका छन्।

लक्ष्मीपूजाको दिन आइतबार राति उर्लाबारी-७ इटहरा रोडका दीपक कार्कीको घरमा आगलागी भएको हो।

आगलागीमा जलेर प्रहरी सहायक निरीक्षकसहित चार प्रहरी, कार्कीसहित अन्य व्यक्तिहरू घाइते रहेको मोरङ जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।

‘राति साढे १० बजेतिर आगलागी सुरू भएको हो, के कति कारणले आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ दाहालले भने।

आगलागीमा जलेका घाइतेहरू पाँच जना न्युरो आर्या विराटनगर, १२ जना बिएन्डसी अस्पताल विर्तामोड, सात जना विराट नर्सिङ हो विराटनगर, रेडप्लस अस्पताल विराटनगरमा दुई जना, लाइफलाइन अस्पताल दमकमा एक जना र गोदावरी अस्पताल उर्लाबारीमा एक जनाको उपचार भइरहेको छ।

घाइते कार्कीको बिएन्डसी अस्पतालमा उपचार भइरहेको दाहालले बताए।

घटनास्थलमा आगो निभाउन र उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी सहायक हवल्दार मनबहादुर घिसिङ, प्रहरी जवानहरू रितिकिरण राई र दिलकुमार आचार्य घाइते भएका हुन्।

‘एभरेजमा शरीर १२-२० प्रतिशतसम्म जलेको छ,’ दाहालले भने, ‘कसैको ४९-५० प्रतिशत भाग जलेको छ।’

कार्कीको घरमा आगलागी सुरू भएपछि निभाउन गएका प्रहरी र स्थानीय घाइते भएका हुन्।

‘आगो निभाउन समय नलागे पनि क्षति ठूलो भएको छ,’ दाहालले भने। पाँच वटा दमकलले आगो निभाएका थिए।

आगलागी सुरू भएपछि बिस्फोट भएको थियो। त्यो ग्यास सिलिन्डर हो वा गाडीको पेट्रोल ट्याङ्की हो खुलेको छैन।

‘गाडी पार्किङ गरेको अवस्थामा थियो, सिलिन्डर हो वा पेट्रोल ट्याङ्की पड्केको हो खुलेको छैन,’ उनले भने। कार्कीको घरमा आगलागी हुँदा भएको क्षतिको विवरण संकलन सुरू गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्