जनता अभियान सोमबार, कार्तिक २७, २०८०

यम पञ्चकको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै छ।
कार्तिक शुक्ल प्रतिपदाको दिन आज गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा रहिआएको छ।
गाईको पूजा गरी आज मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ।
गाईको दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता समेत भनी सम्मान गरिने गरिएको छ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व रहेको बताइन्छ।
गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ।
नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औंसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औंसीको अन्त्य र प्रतिपदाको सुरूमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन्।