जनता अभियान शुक्रबार, मंसिर ०१, २०८०

टिकटक बन्द गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट निवेदन दर्ता भएका छन्।
टिकटक बन्द गर्ने सरकारको निर्णयले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन् भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाललगायतले सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता गरेका हुन्।
दर्ता भएका रिट निवेदनहरूमाथि आगामी सोमबारबाट सुनुवाई हुने वरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिए।
त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने माग गरेको जानकारी दिए।
संविधनमा हरेक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको अधिकार सुनिश्चिचता गरिएको भन्दै सरकारको निर्णय बदर गर्नुपर्ने उनले बताए।
उनले विज्ञहरूको टाक्सफोर्स बनाएर सामाजिक सञ्जालमा भइरहेको दुरुपयोग गर्न सरकारले पहल लिनुपर्ने बताए।
त्यस्तै, अधिवक्ता स्वागत नेपालले टिकटक बन्द गर्ने निर्णय आधारहीन भएकाले यसलाई बदर गर्नुपर्ने मागसहित रिट निवेदन दर्ता गरिएको बताए।
अभिव्यक्ति स्वतन्त्रताको विपरीत सञ्चारमाध्यमलाई प्रतिबन्द गराउनु जायज नभएको उनको भनाइ छ।
टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव खल्बलिएको भन्दै मन्त्रिपरिषद् बैठकले बन्द गर्ने निर्णय गरेको थियो।