खुकुरी हानेर फरार व्यक्तिलाई गोली हानी पक्रियो प्रहरीले

जनता अभियान शुक्रबार, मंसिर ०१, २०८०

धारिलो हतियार खुकुरी प्रहार गरी फरार रहेका एक व्यक्तिलाई गोली हानी प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँके प्रहरीले अभियोगमा बैजनाथ गाउँपालिका-१ चिसापानी घर भई हाल कोहलपुर नगरपालिका-११ बस्ने ३० वर्षीय आकाश रानालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

कोहलपुर नगरपालिका-१२ चप्परगौडी बस्ने २९ वर्षीय मिनबहादुर विकलाई राना लगायतका व्यक्तिहरूले कात्तिक ३० खुकुरी प्रहार गरी फरार भएका थिए।

फरार व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरी टोलीले जानकी गाउँपालिका-४ स्थित खेतको अरहर घारीमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीलाई धकेली भाग्दै गर्दा प्रहरीले फायर गरी उनलाई नियन्त्रणमा लिएको हो। घुँडामा गोली लागेर गई घाइते भएका रानाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

रानाविरुद्ध कात्तिक २८ गते १० वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको जाहेरीसमेत दर्ता छ।

२०७४ असोज २७ गते जिल्ला अदालत बाँकेको आदेशले लागुऔषध ब्राउनसुगर मुद्दामा रानालाई कैद सजाय तोकेको थियो।

उनी २०७९ भदौ २७ गते कैदमुक्त भएका थिए।

यहाँ कमेन्ट गर्नुहोस्