दुर्गा प्रसाईं समूहको प्रदर्शन बल्खुमा

जनता अभियान मंगलबार, मंसिर ०५, २०८०

दुर्गा प्रसाईं नेतृत्वको समूहले मंसिर ७ गते गर्ने प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयले बल्खु क्षेत्र तोकिदिएको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार दुर्गा प्रसाईं समूहलाई प्रदर्शनका लागि बल्खु क्षेत्र तोकिएको हो ।

यसअघि प्रशासनले नेकपा एमालेको संगठन युवा संघलाई तीनकुने क्षेत्र तोकिदिएको थियो ।

युवा संघले र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टाछुट्टै घोषणा गरेका थिए । तर, प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने भन्दै उनीहरुलाई वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनेको थियो ।

युवा संघले तीनकुने क्षेत्रमा प्रदर्शन गर्नेछ ।एमालेले आफ्नो कार्यक्रमलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र अराजकताविरुद्ध’को प्रदर्शन भनेको छ । प्रसाईंले नागरिक मुक्ति आन्दोलन भन्दै ‘व्यवस्था बदल्ने’ प्रदर्शन भनेका छन् ।

प्रदर्शनलाई लक्षित गरी प्रशासनले माइतीघरदेखि नयाँबानेश्वर क्षेत्रमा एक महिनासम्म प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकिदिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्