हत्याको १६ वर्षपछि दुई जना पक्राउ

जनता अभियान बुधबार, मंसिर ०६, २०८०

मोरङको मिक्लाजुङबाट १६ वर्षअघिको हत्यामा संलग्न भएका  दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । व्यक्तिको हत्या गरेर शवलाई जंगलमा गाडेको घटनामा संलग्न भएका मिक्लाजुङ गाउँपालिका–१ का ७० वर्षीय देवीप्रसाद राई र ५० वर्षीय धनकुमार राईलाई पक्राउ गरेको हो ।

देवीप्रसाद मंगलबार र धनकुमार गत शनिबार पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । उनका अनुसार दुवै जनालाई गाउँघरमै  बसेको अवस्थामा पक्राउ गरिएको हो ।

मिक्लाजुङ–१ (साविकको रमितेखोला गाविस–४)का ३५ वर्षीय सन्तोष राईको २०६४ जेठ २० गते राति हत्या भएको थियो । सन्तोषको हत्या पछि जंगलमा लगेर शव गाडिएको थियो ।

प्रहरीले घटनामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएको थियो । जिल्ला अदालत मोरङले दुवै जनालाई २०६७ सालमा दोषी ठहर गर्दै जनही ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । तर, घटनापछि फरार बनेका उनीहरुले हालसम्म सजाय भुक्तान गरेका थिएनन् ।

सजाय भुक्तान नगरिकन लामो समयदेखि फरार रहेका देवीप्रसाद र धनकुमारलाई पक्राउ गरेर मंगलबार अदालतमा पेस गरिएको डीएसपी दाहालले बताए । प्रहरीले बुझाएपछि देवीप्रसाद र धनकुमारलाई मोरङ अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्