जनता अभियान सोमबार, पुष ०२, २०८०

मलेसियामा सँगै काम गर्ने नेपालीको हत्या गरी फर्किएका युवक पक्राउ पक्राउ परेका छन्।
पक्राउ पर्नेमा महोत्तरी गौशाला नगरपालिका-५ का २४ वर्षीय अनिलकुमार साह रहेका छन्।
हुलिया बदलेर नेपाल आउँदै गरेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो।
परिसर प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलका अनुसार साहले झापा शिवसताक्षी नगरपालिका-३ का ४० वर्षीय धनबहादुर प्रधानको हत्या गरेका थिए।
मंसिर २५ गते हत्या गरी नेपालतर्फ आउन लागेको सूचना पाएपछि प्रहरी टोलीले त्रिभुवन विमानस्थलमा निगरानी बढाएको थियो। यसक्रममा मंसिर ३० गते हिमालयन एयरलाइन्सबाट आएका साहलाई पक्राउ गरिएको ढुंगेलले बताए।
विगत एक वर्षदेखि मलेसियामा काम गर्दै आएका प्रधानलाई सोही कम्पनीमा काम गर्ने साहले हत्या गरेको ढुंगेलले बताए।
घटनाको अनुसन्धानमा इन्टरपोलमार्फत् मलेसियन प्रहरी र त्यहाँस्थित नेपाली राजदूतावाससँग समन्वय भइरहेको ढुंगेलले बताए।
साहलाई कर्तव्य ज्यानमुद्दामा काठमाडौंबाट पाँच दिन थुनामा राख्ने अनुमति लिइएको छ।