विनोद मेहता सोमबार, माघ १५, २०८०

विराटनगर । उसै पनि न्युन आर्थिक अवस्था भएकाहरू पढ्ने सामुदायिक विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दो छ । त्यसमाथि झन् कठ्याङ्ग्रिदो चिसोले गर्दा विद्यार्थीहरू विद्यालय आउन छोडेका छन् । जाडोकै कारण विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थीको संख्या निरन्तर घट्दो छ । जसका कारण शैक्षिक गुणस्तर झन्–झन् खस्किँदै गएको छ ।
सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तरलाई लिएर चिन्तित बनेका समाजसेवी अभिषेक गिरिले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई जाडोमा न्यानो कपडा वितरण गरेका छन् ।
पछिल्लो समय समाजसेवामा तल्लीन रहेका गिरिले आफूले स्थापना गरेको गिरि फाउन्डेसनमार्फत्
विराटनगर–८ का दुइटा सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री र त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई स्वेटर वितरण गरेका हुन् ।
उनले विराटनगर–८ स्थित मदरसा तालिमुल कुरआन माध्यमिक विद्यालयमा अध्ययनरत ४५ छात्रछात्रालाई स्वेटर वितरण गरे । साथै, उनले पठनपाठनलाई अझ सहज बनाउन तीन थान ह्वाइट बोर्ड पनि प्रदान गरे ।
विपन्न विद्यार्थीको बाध्यता टार्न सकेको सहयोग गरेको उल्लेख गर्दै फेरि पनि सहयोगको हात अघि बढाउने प्रतिबद्धता जनाए । वि.सं २०६५ सालमा स्थापना भएको उक्त विद्यालयमा ३१५ जना विद्यार्थी अध्ययनरत भए पनि अहिले २९० नियमित छन् । छुटेका अरू सबै विद्यार्थीलाई पुन: सहयोग गर्ने उनले बताए ।
गिरि फाउन्डेसनले यसअघि पनि सहयोग गर्नेगरेको बताउँदै विद्यालयका प्रअ अब्दुल सुबहानले फाउन्डेसनप्रति आभार ब्यक्त गरे ।
यस्तै, गिरि फाउन्डेसनले विराटनगर–८ कै श्री ज्ञान निकुञ्ज आधारभूत विद्यालयका विद्यार्थीलाई पनि स्वेटर वितरण गरेको छ । फाउन्डेसनका अध्यक्ष गिरिले त्यहाँ अध्ययनरत ५० जना विद्यार्थीलाई स्वेटर र पाँच थान ह्वाइट बोर्ड सहयोग गरे । २०४६ मा स्थापित सो विद्यालयमा कुल १२० विद्यार्थी अध्ययनरत रहेका छन् ।