विराटनगरमा मोटरसाइकल चोरको बिगबिगी, समातिए नाइके

विनोद मेहता बिहिबार, माघ १८, २०८०

विराटनगरमा केही वर्षयता मोटरसाइकल चोरको बिगबिगी छ । कुनै चोरले सडकमा पार्किङ गरिएका मोटरसाइकल चोर्छन् भने कुनै चोरले घर कम्पाउन्डमै राखिएका मोटरसाइकल चोर्छन्।

सीमा नजिकै भएको कारण विराटनगरमा मोटरसाइकल चोर्ने र भारत पुर्‍याएर पार्टपूर्जा चेन्ज गरेर सस्तोमा बिक्री गर्ने धन्दा फस्टाएको छ । उक्त गिरोहलाई प्रहरीले निगरानी गरेको भए पनि सीमाका कारण पारी गएर पक्राउ गर्न सक्ने अवस्था छैन ।

चोरले मोटरसाइकल चोरी गरेर ग्यारेजमा पुर्‍याउने अनि पार्टपूर्जा खोलेर, डेन्टिङ पेन्टिङ चेन्ज गरेर बिक्री गर्ने गरेका छन् । मोटरसाइकल चोरको पनि आ–आफ्नै गिरोह छन् । त्यसमध्ये एक गिरोहका नाइकेलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

विराटनगरबाट भइरहेको शृङ्खलाबद्ध मोटरसाइकल चोरीमा संलग्न रहेका भारतको अररियास्थित फारवेशगन्जका ३५ वर्षीय सिकन्दर मण्डललाई प्रहरीले समातेको हो । उनी नेपालको सीमा क्षेत्रबाट संगठित रूपमा गिरोह परिचालन गरेर मोटरसाइकल चोरी गर्ने गिरोहका नाइके हुन्।

सिसिटिभी फुटेजका आधारमा पक्राउ परेका मण्डल र उनको समूहले चोरी गरिसकेपछि मोटरसाइकलको नम्बर प्लेट फालेर भारततर्फ लैजाने गरेको खुलेको छ ।

त्यसअघि पनि मोरङ प्रहरीले सयवटा भन्दा बढी मोटरसाइकल चोरी गरी भारतको जोगबनी, फारवेसगन्ज र फुल्काहालगायतका बजारमा पुर्‍याएर बिक्री गर्ने गिरोहका दुई जनालाई पक्राउ गरेको थियो ।

सुनसरीको हरिनगरा गाउँपालिका६ बस्ने ४० वर्षिय नजाम अन्सारी र भोक्राहा नरसिंह गाउँपालिका२ बस्ने २३ वर्षीय निकाइल अन्सारीलाई प्रहरीले गत मंसिर २९ गरे विराटनगरबाटे समातेको थियो । त्यसमध्ये नजाम अन्सारी भने लागुऔषध कारोबारीसमेत रहेको पुष्टि भएको थियो ।

उनीहरूले चोरी गरी भारतीय बजारमा बिक्री गरिएका मोटरसाइकलहरू सुनसरीको देवानगन्ज हुँदै सीमावर्ती भारतीय बजार कटियारतर्फ अवैध घरेलु मदिराको ओसारपसारमा प्रयोग हुने गरेको पाइएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्