पर्यावरणलाई स्वच्छ बनाउन सिमसार क्षेत्रको संरक्षण गर्न आवश्यक : मन्त्री उप्रेती

विनोद मेहता शुक्रबार, माघ १९, २०८०

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वतावरणमन्त्री गणेश उप्रेती ‘सुशील’ ले पर्यावरणलाई स्वच्छ बनाउन सिमसार क्षेत्रको संरक्षण एवम् सम्वर्द्धन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार मोरङको पथरीशनिश्चरेमा विश्व सिमसार दिवस–२०८० को अवसर पारेर आयोजना भएको कार्यक्रममा बोल्दै मन्त्री उप्रेतीले यस्तो बताएका हुन् ।

‘सिमसार र मानव कल्याण’ प्रमुख नाराकासाथ डिभिजन वन कार्यालय र शान्ति सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरेल आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री उप्रेतीले सिमसार क्षेत्र आयआर्जनका माध्यम भएको बताए ।

‘सिमसार क्षेत्र आयआर्जनको एउटा माध्यम हो, यसैले यसको दोहन होइन संरक्षण हुनुपर्छ,’ उनले भने, ‘जंगल र जंगलसँग जोडिएको सिमसारले पृथ्वीलाई संकट हुनबाट बचाउँछ ।’

मन्त्री उप्रेतीले सिँचाइको मूल स्रोतको रूपमा रहेको सिमसारले जलचर तथा उभयचरलाई प्राण दिइरहेको चर्चा गर्दै यसको संरक्षणमा मन्त्रालयले आवश्यक कार्य गरिरहेको जानकारी दिए ।

यसैगरी पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले प्राकृतिक सम्पदा सिमसारलाई दीगो रूपमा संरक्षण गरी यसबाट लाभ लिन सक्नुपर्ने बताए ।

‘जमिन लक्दैन, पानी सुक्दैन’ त्यसैले सिमसारको महत्व छ,’ उनले भने, ‘प्रकृतिलाई बचाउन सकिएन भने भावी सन्ततीले प्राकृतिक संकट बेहोर्छ ।’

पथरी शानिश्चरे नगरपालिकाका प्रमुख मोहनबहादुर तुम्बापोले सिमसारले गर्दा प्राकृतिक प्राणीलाई बाँच्न एवम् चरण गर्न सजिलो हुने भएकाले यसको संरक्षण एवम् प्रवर्द्धन गर्न नगरपालिकाबाट सक्दो सहयोग गर्ने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्