बुढाथोकीको निधनमा कांग्रेसले तीन दिनसम्म झन्डा आधा झुकाउने

जनता अभियान मंगलबार, माघ २३, २०८०

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ।

आज आकस्मिक रुपमा बसेको सो बैठकले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

नेपाली कांग्रेसका अनुसार केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवम् पूर्वसामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा हिजो माघ २२ गते असामयिक निधन भएको थियाे।

२००१ साल असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मेका स्वर्गीय बुढाथोकीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै कांग्रेसले स्मरण गरेको छ। उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने जनाउँदै कांग्रेसले उनको निधनबाट पार्टी मर्माहत र स्तब्ध भएको जनाएको छ।

‘नेता केशवकुमार बुढाथोकीको निधनप्रति कार्यसमितिको यो आकस्मिक बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। साथै, उहाँको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ।

आज बसेको बैठकको निर्णय अनुसार माघ २३-२५ गते अर्थात तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने, माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको कांग्रेसले जनाएको छ।

साथै, स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

यहाँ कमेन्ट गर्नुहोस्