जनता अभियान मंगलबार, माघ २३, २०८०

ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीका तत्कालीन अध्यक्ष भरत महर्जनविरूद्ध रेड नोटिस जारी भएको छ।
रकम हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान थालेका भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको हो। उनीविरुद्ध चार दिनअघि नै रेड नोटिस जारी भएको प्रहरीको भनाइ छ।
सहकारी विभाग र सहकारीका हालका सञ्चालक समितिले तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध सिआइबीमा उजुरी दिएपछि अनुसन्धान थालेको थियो। महर्जनमाथि बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ।
सुमेरु सहकारीमा करिब ३५ हजार बचतकर्ताले राखेको १० अर्ब भन्दाबढी रकम महर्जनले हिनामिना गरेको अनुसन्धानले देखाएको छ। करिब एक वर्षअघिदेखि नै बचतकर्ताले रकम फिर्ता नपाएपछि सहकारी विभागमा उजुरी परेको थियो।
सोही आधारमा अनुसन्धान भइरहेको र उनी सम्पर्कबाहिर भएकाले रेड नोटिस जारी भएको प्रहरीको भनाइ छ। त्यतिबेलादेखि नै सहकारीका तत्कालीन अध्यक्ष महर्जन भने सम्पर्कविहीन भएका छन्।
रेड नोटिस फरार प्रतिवादीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि जारी गरिन्छ।
नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी हुने गरेको छ।