भीम कामत मृत्यु प्रकरण स् पीडितले अझै पाएनन् न्याय, फेरि विराटनगर तताउने चेतावनी १

विनोद मेहता बुधबार, कार्तिक १०, २०७८

मोरङको विराटनगर महानगरपालिका–११ जनपथ मार्गका ३९ वर्षीय भीम कामतको मृत्यु प्रकरण अझै निष्कर्षमा पुगेको छैन । विराटनगरमा ठुल्ठुला विरोध प्रदर्शन भएसँगै दबाबमा परेको प्रशासनले छानबिन समिति गठन गरेपनि समिति नै निष्क्रिय रहँदा कामत मृत्यु प्रकरणले टुङ्गो पाउन सकेको छैन ।

गाँजासहित पक्राउ परेका भीमको गत भदौ २० गते आइतबार दिउँसो साढे १ बजे हिरासतमै मृत्यु भएको थियो । भदौ १८ गते शुक्रवार प्रहरीले भीमको घरमा खानतलासी गर्दा तीन किलो चार सय ८० ग्राम गाँजा फेला परेको थियो । त्यसपछि पक्राउ परेका भीमको हिरासतमा चरम यातनाबाट मृत्यु भएको मृतकका दाजु शम्भु कामत बताउँछन् ।

भाइको मृत्यु भएको ५२ दिनसम्म पनि छानबिन समितिले हात बाँधिदिँदा आफूहरूले न्याय पाउन नसकेको उनको भनाइ छ । ‘खै आज उसको मृत्यु भएको ५२ दिन भइसक्यो । हामी गरिब–दुःखीका लागि न्याय पनि महँगो साबित भइसकेको छ । अहिलेसम्म उसको मृत्यु रहस्यमै सीमित छ । सम्भवतः छानबिन समितिले बिर्सियो होला, तर हामी मान्छे भेला पार्दै छौँ । फेरि विराटनगर बन्द गर्नेछौँ ।’

भीमको मृत्युपछि चौतर्फी विरोध प्रदर्शन भएपछि भदौ २१ गते सोमबार नै उक्त प्रकरणको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले सहायक जिल्ला अधिकारी शरदकुमार पोखरेलको नेतृत्वमा गठित समितिमा प्रदेश प्रहरी प्रवक्ता डिएसपी नवीन राई, विराटनगर ११ र १२ का वडाध्यक्ष र कामतको घर नजिकका छिमेकी थिए ।

सो समिति पटक–पटक छलफल गरे पनि निष्कर्षमा पुग्न सकेको छैन । भिसेरा रिपोर्टका कारण निष्कर्षमा पुग्न नसकिएको सहायक जिल्ला अधिकारी पोखरेल बताउँछन् । संयोजक पोखरेलले आफू छानबिनमा सक्रिय रहेको जनाउँदै भने, ‘रिपोर्टले पनि अड्किएको छ । मैले आफ्नो ठाउँबाट काम गरिरहेको छु । तर समितिका अरू सदस्यहरू निष्क्रिय बनिदिनुभयो । बोलाएका बेला आउनु हुन्न । कहिले को नआउने कहिले को । यसैले पनि ढिलाइ भइरहेको छ । अब आज रिपोर्ट आउँछ अनि भोलि सबैलाई डाक्छु ।’ सम्भवतः आगामी सातासम्ममा रिपोर्ट सार्वजनिक हुन्छ ।’

यहाँ कमेन्ट गर्नुहोस्