जनता अभियान सोमबार, माघ २९, २०८०

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री छड्के अनुगमनमा जाँदा प्रहरीले धकेलेका छन् ।
आइतबार सेवाग्राही बनेर यातायात कार्यालय इटहरीको ट्रायल सेन्टर पुग्दा उनलाई डिउटीमा खटिएका प्रहरीले धकेलेका हुन् । क्याप, माक्स, कालो चश्मा लगाएर पुगेका मन्त्री राईसँग यातायात कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईं कड्किएका छन् ।
छड्के अनुगमनमा सेवाग्राही बनका पुगेका यातायात कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईंलाई ठूलो स्वरमा ‘तपाइँ को हो यहाँबाट गइहाल्नुहोस’ भन्दै कड्किएका थिए । कार्यालय प्रमुख कड्किएपछि मन्त्री केही पर सरेर चुप लागेर बसे । मन्त्री राईलाई ट्राफिक प्रहरीले हट्न निर्देशन दिए । अटेर गरेर बसेपछि प्रहरीले यहाँ बस्न पाइँदैन भनेर धकेलेर त्यहाँबाट हटाउन खोजे । प्रहरीले धकेलेपछि उनले मास्क खोले, त्यसपछि कर्मचारीले उनलाई कर्सी दिएर बस्न आग्रह गरे ।
सेवाग्राही बनेर गएका मन्त्री निजी गाडीमा पुगेका थिए । सचिवालयका कर्मचारी र पिएसओ पनि सादा पोसाकमा थिए । ‘सेवाग्राही भएर जाँदा मलाई त प्रहरीले ठेलठाल गरे ,’ मन्त्री राईले भने,‘सोझा साझा सेवाग्राहीले सजिलै सेवा नपाउँदा रहेका छन् ।’ अनुगमनपछि अब नागरिकलाई सहज रुपमा सेवा दिने व्यवस्थापन गर्ने उनले बताए ।
ट्रायलमा फेल पास ठाउको ठाउँ गर्नुपर्ने प्रावधान रहेपनि कर्मचारीले उति नै बेला केही नगर्ने गरेको पाइएको उनले बताए ।‘ट्राफिकले फेल पास भन्दो रहेछन्, तर कर्मचारीले भर्ने फाममा भने खाली नै राखिदो रहेछ,’ उनले भने,‘ यसले पनि आर्थिक चलखेल हुन्छ शंका देखियो ।’
यातायात व्यवस्था कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्र प्रसाद प्रसाईँले यातायात कार्यालयमा बिचौलिया प्रवेश रोक लगाइएको बताए । भीड हुने भएका कारण त्यती बेलै फेल पास नलेखेको उनको भनाई छ ।
यातायातका निमत्त प्रमुख प्रसाईंले यातायात कार्यालयले सकेसम्म सेवाग्राहीलाई झन्झट नदिने प्रयास गर्दै आएको दाबी गर्दै भने, “फेसबुक पेज पनि बनाएका छौं । त्यसमा परीक्षा, ट्रायल आदि सबै विषयमा जानकारी राखिदिने गरेका छौं ।” मोटरसाइकलको सेवाग्राही लाइनै जाँदा गल्ती हुनसक्ने भएकोले त्यो टेबुलबाट नउठी चेकलिस्ट नभर्ने गरिएको जिकिर गरे । केरमेट नहोस भनेर तत्कालै नगर्ने गरेको उनले दाबी गरे ।
इटहरी कार्यालय महिनामा पाँच पटक ट्रायल गराउने गर्दछ । त्यसमा हलुकादेखि ठूला सवारी साधनको पनि ट्रायल गराइन्छ । एक पटकमा डेढदेखि दुई सयसम्मले ट्रायल दिन्छन । बायो मेट्रिक भएको चार दिनमा ट्रायल हुन्छ । एक दिन रिट्रायल गर्ने प्रबन्ध समेत गरिएको कार्यालयले जनाएको छ ।