विनोद मेहता मंगलबार, फाल्गुण ०१, २०८०

विराटनगर । विराटनगर महानगरपालिका–३ घरेलु तथा साना उद्योग कार्यालयनजिक खाली चौरमा बम राख्ने दुई जना समातिएका छन् ।
मोरङ प्रहरीले प्रेसर कुकर बम राख्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इलामको माम्सेबुङ गाउँपालिका–१ गजुरमुखीका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको याङ्वरक गाउँपालिका–१ का ३० वर्षीय विपिन अधिकारी रहेका छन् ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार सोमबार दिउँसो नै उनीहरूलाई पक्राउ गरिएको हो ।
मिश्र र अधिकारीले विराटनगर–३ मा प्रेसर कुकरमा टेपले बाँधेर राखेको अवस्थामा बम राखेका थिए । मंगलबार बिहान १०ः४३ बजे नेपाली सेनाको टोलीले बम डिस्पोज गरिसकेको छ ।
पक्राउ परेपछि आफूहरूले बम राखेको खुलाएका थिए । सोहीअनुरूप बम फेला परेको स्थानलाई सुरक्षित राख्न प्रहरी परिचालन गरिएको थियो । आज बिहान मोरङ जिल्लामा तैनाथ भैरव गणका सेनानी रभास खतिवडाको कमाण्डमा रहेको टोलीले डिस्पोज गरेको हो ।
कालो टेपले बाँधिएको प्रेसरकुकरभित्र २७ डेटोनेटर १ र सेफ्टि फ्युज, सबुनको डल्ला र ढुङ्गाहरु फेला परेको छ ।
पक्राउ परेका उनीहरू निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउने समूहका सदस्य हुन् ।
उनीहरू यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाआवद्ध रहेको खुलेको छ । विप्लव समूहबाट अलग भएर विद्यालयलगायतमा चन्दा आतंक मच्चाइरहेको पाइएको प्रहरीको भनाइ छ ।
यो समूहले पछिल्लो केहीसमय यता नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा शैक्षिक संस्थाहरुमा चन्दा आतंक मच्याइरहेको थियो ।
पक्राउ परेका व्यक्तिको साथबाट विष्फोटक पदार्थ बनाउने सामग्री पनि फेला परेको छ । प्रहरीका अनुसार मिश्रको साथमा रहेको झोलामा ७ वटा डेटोनेटर, १८ फिट ३ ईन्च लम्बाईको डेडकर्ड, १ केजी सोडा र सहयोग रसिदको दुई वटा ठेली बरामद भएको छ ।
यस्तै सहयोगका लागि लेखिएको पत्र, मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड, डायरी र एनसेलका पाँच वटा सिम बरामद भएको छ ।
अधिकारीको साथबाट पनि मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड, सहयोग रसिदको ठेली, महासचिव महावीर नामको हस्ताक्षर रहेको सहयोग सम्बन्धी लेखिएको पत्र, डिजिटल स्टाम्पलगायत सामग्री बरामद भएको छ ।