राजा र प्रजातन्त्र सँगसँगै रहनु पर्छ: कमल थापा

जनता अभियान शुक्रबार, फाल्गुण २५, २०८०

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र प्रजातन्त्र संग-सङ्गै रहनुपर्ने भन्दै आफूहरूले राजाको कुरा उठाएर निरङ्कुशता नखोजेको बताएका छन्।

राजासहितको प्रजातन्त्र आफ्नो पार्टीको सैद्धान्तिक अवधारणा रहेको चर्चा गर्दै थापाले हिन्दु राष्ट्रको विषयले पनि कोही आत्तिनु नपर्ने बताए।

‘सबै धर्मलाई समान व्यबहार हुन्छ, धार्मिक आस्थाको आधारमा कसैलाई थिचोमिचो हुँदैन, हामीले पहिचानको कुरा उठाएका हौं, सर्वधर्म समभाव हाम्रो अवधारणा हो,’ बिहीबार पूर्वप्रहरी संगठनको एक कार्यक्रममा थापाले भने।

समग्र रुपमा भन्दा अहिलेको व्यवस्था र प्रणाली असफल भएको भन्दै अहिलेको भ्रष्ट व्यवस्था, भ्रष्ट शासक र  फोहोरी राजनीतिको अन्त्य आवश्यक भएको समेत थापाले औंल्याए।

गठबन्धनको परिवर्तनले आशा होइन, थप निराश बनाएको भन्दै जनतामा भरोसा टुटेको र मुलुकको अबस्था थप कमजोर हुँदै जाने समेत उनको कथन थियो। जसरी हुन्छ सत्ता र शक्तिको लागि गरिने राजनीतिले मुलुकलाई निकास दिन नसक्ने थापाको दाबी थियो।

थापाले पूर्वप्रहरीहरूको हक हितको लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको समेत बताए।

कार्यक्रमबाट संगठनका अध्यक्ष हरिहर श्रेष्ठले मध्यमाञ्चल क्षेत्रका जिल्लाहरूमा जिल्ला अध्यक्षहरूको जिम्मेवारी तोकिएको जानकारी दिए।

यहाँ कमेन्ट गर्नुहोस्