अवैध संरचनामा उपमहानगरको डोजर

जनता अभियान मंगलबार, चैत्र १३, २०८०

खोला र पैनी मिचेर बनाइएका अवैध संरचनामा इटहरी उपमहानगरपालिकाले डोजर चलाएको छ । खोला र पैनीको जग्गा मिचेर निर्माण भएका संरचना हटाउन यसअघि उपमहानगरले  सूचना जारी गरेको थियो । नहटाएपछि  मंगलबारबाट डोजर चलाउन सुरु गरेको हो ।

इटहरीस्थित टेंग्रा खोलाको सिरानबाट खोला अतिक्रमण गरेर निर्माण भएका संरचना हटाउन सुरु गरेको उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।  अतिक्रमण गर्नेले नै संरचना नहटाएपछि उपमहानगर आफैले भत्काउन सुरु गरेको उनले बताए ।

टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६– ६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने कानुनलाई आधार मानिएको उनले बताए ।  खोला पैनीको दुवैतर्फ ६– ६ मिटर नछोडिकन बनेका संरचना भत्काउन थालिएको उनको भनाई छ ।

बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ। पैनी र खोलाको क्षेत्र अतिक्रमण गरेका कारण परेको पानीको निकास ढिलो हुन्छ  । बर्खामा इटहरीमा खोलाको तटीय वस्तीमा बस्नेलाई जोगाउनका लागि अवैध संरचना हटाउन थालिएको पौडेलले बताए ।

इटहरी उपमहानगरपालिका भित्र २० वटा वडा रहेका छन् ।  तीमध्ये  ३, ४, ९, १०, ११ र  १२ नम्बर वडा बाढीबाट धेरै प्रभावित हुन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्