जनता अभियान सोमबार, मंसिर ०३, २०८१
कोशी प्रदेशको सबैभन्दा ठुलो अस्पताल कोशी अस्पतालबाट कमिसनको लोभमा बिरामीलाई निजी अस्पताल पुर्याइने गरिएको पाइएको छ ।
कोशीमा कार्यरत डाक्टर र एम्बुलेन्स चालकको मिलेमतोमा बिरामीलाई मन्जुरीबिना नै गोल्डेन अस्पताल पुर्याइएको बिरामीका आफन्तको आरोप छ ।
शुक्रबार बिहान ३ बजे इमर्जेन्सीमा भर्ना भएका विराटनगर महानगरपालिका-६ का ३२ वर्षीय महावीर मण्डललाई बेड अभावको कारण देखाउँदै रिफर गरिएको थियो ।
अवस्था जटिल बन्दै गएका मण्डलको थप उपचार गर्न आइसियु बेड नभएका कारण कोशीको इमरजेन्सीमा कार्यरत डाक्टर तुलसी गोइतले उनलाई निजी अस्पताल लैजान सुझाएका थिए ।
अक्सिजन लेभल ६८ पुगेको र आइसियु बेड नभएको बताउँदै डा. गोइतले बिरामीलाई अक्सिजन मास्क लगाइदिएर अन्यत्र लैजान सुझाव दिएका थिए ।
डाक्टर गोइतले बोलाइदिएको एम्बुलेन्समा राखेर उनलाई गोल्डेन अस्पताल पुर्याइएको उनकी श्रीमती सरिता मण्डलको दाबी छ ।
अत्तालिएका आफूहरूसँग सहमति नगरी मण्डललाई बिनासल्लाह गोल्डेनमा पुर्याइएपछि अहिलेसम्म ८५ हजार बिल उठिसकेकोले तिर्न असक्षम भएको उनको दुःखेसो छ ।
‘विपन्न आर्थिक अवस्थाको मैले उक्त खर्च तिर्न सक्दिनँ,’ उनी भन्छिन्, ‘भलै मेरो बूढाको अवस्था जटिल होला । तर, हामीले सोच्न नपाइकन त्यहाँ पुर्याउँदा झन् समस्या भएको छ । गोल्डेन विराटनगरकै महँगो अस्पताल रहेछ । अब मैले कसरी त्यत्रो रकम तिर्नु ?’
यता, डा. गोइतले भने अक्सिजन लेभल ६८ पुगेपछि बिरामीका आफन्तलाई सही छाप लगाएर पठाएको बताए ।
आफूले बिरामीका आफन्तलाई सकेमा निजीमा लैजान र नसकेमा यहीँ राखेर उपचार गर्ने भन्ने प्रस्ताव राखेको समेत सुनाए ।
बिरामीको अवस्था देखेर आफूले सहयोग गरेको बताउँदै उनी भन्छन्, ‘मैले गलत नियत राखेको छैन । छातीमा छोएर भन्छु मैले गोल्डेन लैजानु भनेकै छैन । उहाँलाई पटक-पटक सहयोग गर्दै आएको हुँ । बरु एम्बुलेन्सवालाले गडबडी गरेको हुन सक्छ ।’
कोशीमा आइसियु बेड १२ वटा छन् । तर, कर्मचारी अभावका कारण पाँचवटा आइसियु बेड सञ्चालनमा छैनन् ।
यता, डाक्टर रुना झाले कहिलेकाँही रिफर गर्नुपर्ने अवस्था आउने भए पनि गलत नियत राखेर रिफर गरिएको हुन नसक्ने बताइन् ।
‘बेड अभाव हुँदा वा उपचार सम्भव जस्तो नदेखिएमा रिफर गर्ने हो, तर प्रक्रिया पुर्याएर कन्सलटेन्ट डाक्टरले रिफर गर्नुपर्छ,’ उनले भनिन्, ‘त्यस्तो नियत देखिएमा कारबाही गर्छु ।’
‘बाहिर लैजानैपर्ने भएमा बिरामी र आफन्तलाई सहजीकरण गरिदिन मैले डाक्टरहरूलाई निर्देशन दिएकी छु,’ उनले भनिन्, ‘किनकि, यहाँबाट बिरामीलाई एउटा अस्पताल पुर्याइएला । तर, त्यहाँ पनि बेड नहोला । डुलाउँदा-डुलाउँदै बिरामीको ज्यान जान सक्छ ।’